सुर्खेत – नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ । लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन ।
अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रिय शिर्ष नेताले विवाद समाधान गरेका हुन् । केन्द्रको परिपत्र अनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । उनका अनुसार आज साँझ वा सम्भव नभए भोलिबिहानसम्म नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी छ ।
कसले कुन मन्त्रालय पाउँदै ?
आठ सदस्यीय कर्णाली मन्त्रीपरिषदमा पाँच मन्त्री थप हुने भएका छन् । जसमा नेकपा माओबादी केन्दले दुई, नेपाली कांग्रेसले दुई र नेकपा एकिकृत समाजबादीले थप एक मन्त्रालय पाउने भएका छन् ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाही सहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार मन्त्रालयको बाँडफाँट टुंगो लागेपछि नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा र यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
यस्तै नेकपा माओवादीबाट कार्चेन लामालाई ऊर्जा तथा जलस्रोत मन्त्री र गणेशप्रसाद सिंहलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
यता नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले बताइएको छ ।