सुर्खेत – कर्णाली प्रदेशमा गतिलो रंगशाला नहुदाँ खेलाडीलाई प्रशिक्षणमा सकस भएको छ ।
कर्णालीका हरेक जिल्ला तथा स्थानीय तहस्तरमा आ–आफ्नै तरिकाले धमाधम रंगशाला निर्माण भइरहेका छन् ।
तर ठुला खेलकुद प्रतियोगिता संचालन तथा खेल प्रशिक्षण गर्नमिल्ने भरपर्दो रंगशाला भने एउटै छैन । कर्णालीमा गतिलो रंगशाला निर्माणबारे यहाँका खेलाडीले पटक पटक आवाज उठाउँदै आएपनि कर्णाली सरकार भने बल्ल जागेको छ ।
गतिलो रंगशाला नहुँदा कर्णालीका खेलाडीले भोग्नुपरेको समस्यालाई मध्येनजर गर्दै कर्णाली सरकारले गौरबको आयोजनाको रुपमा प्रदेश रंगशाला निर्माणको कामलाई अघि सारेको छ ।
सबै खेल क्षेत्रका खेलाडीले एकै पटक र एकै ठाउँमा प्रशिक्षण गर्न र ठुला खेल प्रतियोगिता संचालन गर्नमिल्ने गरी सुर्खेतको वीरेन्द्रनगरमा रंगशाला बन्ने भएको हो । उक्त रंगशाला निर्माण कार्य अबको साढे दुई बर्षभित्र सम्पन्न हुनेछ ।
रंगशाला निर्माण कार्य ठेक्का लिएको एमएसी एण्ड जीएसएल कम्पनीले बेसिक काम शुरु गरेको छ । कुल लागत १ अर्व ५९ करोडमा रंगशाला निर्माण हुनेछ । निर्माण कम्पनीका साइड इन्जिनियर गगन थापाका अनुसार रंगशालाको डिजाइनको काम र निर्माणको काम सँगसँगै लिइने भएको छ ।
कर्णालीको गौरबको आयोजना अब बन्ने प्रदेश रंगशाला १० हजार दर्शक अट्ने क्षमताको रहने छ, भने यस भित्र अन्तराष्ट्रिय स्तरको भलिबल खेलमैदान, स्वीमीङ पुल, फुटबल, हेण्ड बल, बास्केट बल र एथ्लेटिक्स लगायतका खेलहरु हुने छन् ।
प्रदेश रंगशाला जस्तो गौरबको आयोजनालाई कार्यन्वयन गराउन कर्णाली सरकार गम्भिरताका साथ लागेको मुख्यमन्त्री जीवन बहादुर शाहीले बताए । ‘रंगशाला निर्माणको क्रममा आउने समस्याहरुको बारेमा सरकार जहिले पनि साथमा रहने छ’ उनले भने, ‘रंगशाला निर्माण कार्य छिटो सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई निर्देशन दिएका छौं ।’
कर्णाली प्राकृतिक हिसाबले जति सुन्दर छ त्यो भन्दा बढि यहाँ अनेक सम्भावनाहरु पनि छन् । यीनै सम्भानाहरुको खोजि गर्नु कर्णालीको दायित्व हो । तर सम्भावनाहरु हुदा हुदै पनि खेल क्षेत्रमा भौतिक संरचनाको अभाव झेलेको कर्णालीले अबको साडे दुई बर्ष भित्र खेल जगतमा एउटा अभावको खुट्कीलो पार गर्ने निश्चित छ ।
कर्णाली सरकारले गौरबको आयोजनाको रुपमा लिएको प्रदेश रंगशाला अब छिट्टै बन्ने यहाँका खेलाडीको अपेक्षा छ । भौतिक संरचनाको अभावका कारण झेल्नुपरेको समस्या अन्त्य गर्न खेडालीहरु प्रदेश रंगशाला बनेको हेर्ने पर्खाइमा छन् ।
‘जति बेला जुन चिजको अभाव परेको छ । त्यो बेला कर्णाली सम्झिनेहरुको लागि अब कर्णालीका खेलाडीहरुबाट त्यो परिचयको अन्त्य हुनेछ’ जिल्ला व्याडमिन्टन संघ सर्खेतका प्रशिक्षक टक्कबहादुर शाहीले भने, ‘सानो सानो खेल प्रशिक्षणको लागि होस् या खेल खेल्नको लागि कर्णालीबाट बाहिर जानुपर्ने बाध्यता अब भोग्नुपर्ने छैन ।’
कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव विश्वामित्र संज्यालले छिटेटै कर्णालीका खेलाडीहरुले प्रदेशको पहिलो रंगशाला पाएर खेल क्षेत्रमा पनि नयाँ आयाम थप्ने दावी गरे ।