कर्णालीमा नेकपा एसले तीन मन्त्रालय नछाड्ने, बरु समर्थन फिर्ता लिने

आइतबार मन्त्रीमण्डल विस्तार नहुने पक्कापक्की

सुर्खेत । कर्णाली सरकार विस्तार कार्य फेरी अन्यौलमा परेको छ । नेकपा एकीकृत समाजबादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो ।

आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री जीवनबहादुर शाही पुन ः मन्त्रीमण्डल विस्तारमा असफल हुने देखिएको छ । नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री शाहीले बल्ल सरकारलाई पूर्णता दिने तयारी गरेका थिए ।

तर समाजवादीले गत वैशाख २ को सहमति अनुसार नै अघि बढ्ने दावी गरेपछि आइतबार मन्त्रीमण्डल विस्तार नहुने पक्कापक्की भएको हो ।

मुख्यमन्त्री शाहीले आइतबार सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेको थिए ।

तर समाजबादीले आफ्नो अडान कायमै राखेपछि मन्त्रीमण्डल विस्तार कार्य प्रभावित हुने देखिएको छ । आठ सदस्यीय कर्णाली मन्त्रिपरिषद्मा यसअघि मुख्यमन्त्री शाही सहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।

शीर्ष नेतालाई दबाब दिन काठमाडौं

पूर्व सहमति अनुसार आफ्नो पाटीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायम राख्दै केन्द्रको पत्रअनुसार दुई मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने समाजबादीले जनाएको छ ।

पूर्व सहमति अनुसार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिएको र सोही अनुसार जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमति अनुसार तीन नछोड्ने एकीकृत समाजवादीका प्रदेश अध्यक्ष समेत रहेका पूर्व मन्त्री अम्मरबहादुर थापाले बताए ।

यदी तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने समाजबादी कर्णाली प्रदेशले चेतावनी दिएको छ । यसबारे शीर्ष नेतालाई दबाब दिन नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापा शनिबार काठमाडौं पुग्दैछन् ।

कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको भनिएको सहमतिविपरीत दुवै नेताहरु कर्णालीमा तीन मनत्रालय पाउनुपर्ने र समाजबादीकी देवी ओलीलाई पनि मन्त्री बनाउनुपर्ने माग लिएर काठमाडौं जान लागेको एक नेताले जानकारी दिए ।

रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद ओली, दलका नेता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेश सांसद पदम रोकाया, उपमहासचिव ज्वाला र अध्यक्ष थापाबीच शुक्रबार बसेको बैठकबाट तीन मन्त्रालयको दाबी नछाड्ने तर यदी तीन मन्त्रालय नपाए समर्थन फिर्ता लिनेसम्मको निष्कर्षमा पुगेको बताइएको छ ।