सुर्खेत – ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ आज सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ ।
योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसैबिच राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार सुर्खेतका बृद्ध-बृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित प्रशान्ती बृद्धाश्रममा रहेका बृद्ध-बृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको हो ।
आश्रममा रहेका २४ जना बृद्ध-बृद्धा र ३ जना सहयोगी कर्मचारी गरी २७ जनालाई ३० थान न्यानो कपडा (कम्बल) र आयुर्वेद औषधि वितरण गरिएको निर्देशनालयकी आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले बताइन् । उनका अनुसार बृद्ध-बद्धाहरुका लागि जीउ दुख्ने र खोकी लागेमा प्रयोग गरिने औषधि र फलफुल पनि वितरण गरिएको छ ।
उक्त सामाग्रीहरु स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्त्रण गरेका हुन् । डा. खड्काले सामाग्री हस्तान्त्रण गर्दै कोभिड १९ को तेस्रो भेरियण्ट बढ्दै गइरहेकोले सबैले सावधानी अपनाउन सुझाब दिए । तेस्रो भेरियण्टका कारण योग दिवसका अवसरमा सभा तथा विभिन्न योग सम्बन्धिका क्रियाकलाप गर्न नपाइने भएकाले आश्रममा रहेका बृद्ध-बृद्धाहरुलाई न्यानो कपडा तथा औषधि वितरण कार्यक्रम राखिएको हो ।
सोही अवसरमा बृद्धाआश्रमका उपाध्यक्ष सितलसिंह राठौरले आश्रममा रहेका बृद्ध(बृद्धाहरुले नियमित योगका विभिन्न आसनहरु गर्ने गरेको जानकारी दिए ।