ठेकेदारको लापारवाही : तीन प्रदेश जोड्ने पुल निर्माण अलपत्र, सम्झौता रद्द गर्ने तयारी

सुर्खेत – तीन प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको भेरी नदीमा बनाउन थालिएको पक्किपुल निर्माण कार्य अलपत्र छ । सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमाना रानीघाटस्थित भेरी नदीमा बन्न लागेको पुल निर्माण कार्य ठेकेदारको लापारवाहीले अलपत्र परेको हो ।

कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते ठेक्का सम्झौता गरी पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले पुल निर्माण कार्य थालेको थियो । तर पुल निर्माण कार्य सुरु भएको नौ वर्ष बित्दासमेत तीनवटा पिलरमात्रै हालिएका छन् ।

१४ करोड २९ लाख ८९ हजारमा ठेक्का पाएको पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षभित्रमा पुल निर्माण कार्य पुरागर्ने सम्झौता गरेको हो । तर डिजाइन फेल भएको बाहाना गर्दै निर्माण कम्पनीले बिचैमा काम अलपत्र छाडेको छ । हालसम्म कम्पनीले न नयाँ डिजाइन बनाउन सकेको छ । नत सडक डिभिजन कार्यालय सुर्खेतले ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सकेको छ ।

निर्माण कम्पनी तथा ठेकेदारका प्रतिनिधि कर्णबहादुर मल्लले नदीको बीचमा निर्माण हुने पिलरको जगमा कडा चट्टान भएकाले डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था आउँदा काम अलपत्र परेको तर्क गरे ।

१ सय २० मिटर लम्बाइ रहेको यस पुल नबन्दा स्थानीयवासी सकसपूर्ण लामो यात्रा गर्न बाध्य छन् । यो पुल निर्माण भए सुर्खेतदेखि लुम्बिनी प्रदेशसम्मको दूरी ५२ कलिोमिटर छोटिने छ । हाल सुर्खेतदेखि लुम्बिनी प्रदेशको बाँकेसम्मको दूरी ८६ किलोमिटर रहेको छ ।

पुल निर्माण नहुँदा कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको बर्दिया तथा सुदुरपश्चिम प्रदेशका कैलाली (धनगढी) जोड्ने हुलाकी राजमार्ग समेत संचालनमा आउन सकेको छैन । यस पुल निर्माण भएमा कर्णालीसँगै बाँके, बर्दिया, कैलाली लगाएत अन्य प्रदेशका जिल्ला र भारतसम्म जान सुर्खेतदेखि बाँकेको कोहलपुर धाउनपर्ने बाध्यता हट्ने छ ।

हाल भेरी नदीमा गतिलो पुल नहुँदा बराहताल गाउँपालिका १ देखि ४ नम्बर वडाका नागरिक दैनिक नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीय ओम शाहीले बताए । हिउँदमा भेरी नदीमा पानीको बहाव कम हुनेहुँदा जोखिमपूर्ण भएपनि डुङ्गा चढेर वारपार गरेपनि वर्षायाममा भने डुङ्गा सम्भव हुँदैन ।

स्थानीयको सहजताका लागि बराहतालको रानीघाट, पाग्मा र तरंगा स्थित भेरी नदीमा झोलुङ्गगे पुल निर्माण गरिएको छ । तर यी पुलमा पुग्न प्रायः बस्तीहरुबाट दुई/तीन घण्टासम्म हिंड्नु पर्ने बाध्ययता छ । भने अर्कोतिर बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले पनि यात्रामा असहज छ ।

यता स्थानीयवासीले पुलको निर्माण कार्य अलपत्र पार्ने ठेकेदार र सम्बन्धित निकायलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै सडक डिभिजन कार्यालय सुर्खेतलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

पुल निर्माण नहुदाँ स्थानीयलाई दैनिक आवतजावतमा कठिनाइ हुनुका साथै, विकास निर्माण र अन्य काममा प्रत्यक्ष बाधा परेको छ । तत्काल पुल निर्माण कार्य सुरु नभए आन्दोलन गर्ने बराहतालवासीले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएका छन् ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले विभिन्न वाहानामा नौ वर्षसम्म पुल निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने बताए । ‘पप्पु–मल्ल जेभी भन्ने कम्पनी पुल निर्माण गर्ने खालको कम्पनी नै हैन रहेछ’ मन्त्री विष्टले भने, ‘विभिन्न बाहना बनाएर पुल निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई बहिष्कार गर्नुपर्छ ।’

कम्पनीसँग पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियामा गएको उनले बताए । उनले थपे, ‘नयाँ ठेक्काबारे सडक डिभिजन र पुल महाशाखालगायतका निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइएके हो ।’ उनका अनुसार हाल यहाँका नागरिकलाई यात्रामा सहजहोस् भन्ने हेतुले पुल निर्माण हुने स्थानमा तत्कालका लागि फेरी निर्माण गरिनेछ ।