मृर्गौंला पीडित भन्छन्, ‘मर्ने रहर छैन, बाँच्ने आधार छैन’

कोही एक्लै अस्पताल पुग्छन्, त कसैसँग कोठाभाडा तिर्ने पैंसा छैन


सुर्खेत – बराहताल गाउँपालिका १० सुर्खेतका यूवराज गौतम उमेरले २४ वर्षका मात्रै भए । डेढ वर्षको छोरा, श्रीमति र बुढा आमा, बाबासहित उनी वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका छन् । उनलाई आफु मृर्गौंला पीडित भएको पीडा भन्दा कोठाभाडा र रासन खर्च तिर्न नसकेको पीडाले बढि मन पिरोलिरहेको छ ।

भारतको बैंकलोर स्थित एक अपार्टमेण्ड स्टोरमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उनले त्यही कमाइबाट परिवारको खर्च धानेका थिए । तर गएको भदौमा उनी एक्कासी बिरामी परेपछि दुबै मृगौंला फेल भएको पृष्टि भएको हो । उपचारका क्रममा गाउँमा रहेको सानो घर समेत बेचेर स–परिवार सहित विस्थापीत भएका यूवराज गौतम हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट डाइलासिस सेवा लिइरहेका छन् ।

‘मृर्गौंला प्रत्यारोपण गर्न लाखौं खर्च लाग्छ । कुनै आर्थिक स्रोत छैन । प्रत्यारोपण गर्ने मान्छे पनि छैनन्’ उनले भने, ‘मलाई जिवनदेखि निराशा लागिसकेको छ । तर परिवारको खर्च नचल्दाको पीडा र डेढ वर्षको छोराको अनुहार सम्झिदाँ मन सम्हाल्न सक्दैन ।’

प्रदेश अस्पताल सुर्खेतबाट डाइलासिस सेवा लिइरहेका यूवराज गौतम जस्तै भविन्द्र गुरुङको पनि पीडा कम छैन । उनी भन्छन्, ‘मलाई अस्पतालसम्म पु¥र्याउने र लैजाने मान्छे समेत छैनन् । घरमा बुढीआमा र भाइ छन् । आमाले साथ दिन सक्नुहुन्न । भाइ आफ्नै काममा हुन्छ । सकीनसकी आफै लतारीदै अटोरिक्सा खोजेर अस्पताल पुग्छु । डाइलासिसले धानेको जिन्दगी यसरी कति दिन चल्ला र ?’

उमेरले ३० वर्ष मात्रै पुगेका उनी, विगत ८ वर्षदेखि थला परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९, स्थायी घर भएका भविन्द्र गुरुङलाई अचेल रोग भन्दा एक्लोपनको महशुसले पीडा दिएको छ । ‘अरु बिरामीका श्रीमति र परिवारले साथ दिएको देख्छुँ, मेरो कोही छैन’ उनले थपे, ‘उपचार गर्दागर्दै १५ लाखजति खर्चभइसक्यो । अब नत पैंसा छ न कसैको साथ । बाँच्ने आशा पनि कम छ ।’ उनी विदेश जाने तयारीमा हुदाँ एक्कासी बिरामी परेका थिए । पछि स्वास्थ्य चेकजाँच गर्दा मृगौंला फेलको समस्या देखियो । उनले भने, ‘आमाले मृगौंला प्रत्यारोपण गर्नुभयो । तर त्यो मृगौंलाले पनि ५ वर्षमात्रै काम ग¥र्यो ।’

उनीहरु जस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट हाल डाइलासिस सेवा लिइरहेका २९ जना सबै मृगौंला पीडितका पीडा उस्तै छन् । कसैसँग पैंसा छ, तर मृगौंला प्रत्यारोपण गर्ने मान्छे छैनन् भने कसैसँग मान्छे छन् तर पैंसा छैन । सबै पीडितका फरक फरक व्यथा भएपनि पीडा सबैलाई उस्तै छ । उनीहरु सबैको एउटै भनाइ थियो ‘मर्ने रहर छैन, तर अब बाँच्ने आधार पनि त छैन’ ।

मधुमेह र उच्च रक्तचापका कारण दुबै मृगौंला फेल भएकी वीरेन्द्रनगर ११, कि ६४ बर्षिया विस्ना थापा मगर र जुम्ला कनकासुन्दरीका ६८ बर्षिय प्रेमसिंह रोकायालाई पनि केही वर्ष संसार हेर्ने रहर छ । तर बृद्धअवस्थामा मृर्गौंला पीडित हुनुपर्दा उनीहरुलाई अब डाइलासिसले मात्रै बाचिँएला जस्तो लागेको छैन । ‘कोठा भाडामा बसेर उपचार गरिरहेको छुँ । खर्च बढ्दै छ’ उनले भने, ‘जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान त छ, तर त्यहाँ डाइलासिस सेवा नहुँदा म जस्ता बिरामीले सुर्खेत, काठमाडौं धाउनुपर्दा धेरै दुख पाएका छन् । मलाई समस्या भएपनि जुम्लामै यो सेवा भए अरुलाई सहज हुन्थ्योहोला ।’

११४ जनाले लिए, डाइलासिस सेवा

कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १ सय १४ जनाले डाइलासिस सेवा लिएका छन् । डाइलासिस सेवा सुरु भएदेखि हालसम्म १ सय १४ जनाले सेवा लिएको असपताललले जनाएको छ । प्रदेश अस्पतालमा २०७४ मंसिरबाटे डाइलासिस सेवा सुरु भएको थियो ।

विभिन्न कारणले दुबै मृगौंला फेल भई उपचारारत बिरामीहरुले हप्तामा दुई पटकसम्म निशुल्क डाइलासिस सेवा लिइरहेको अस्पताल नर्सिङ निरीक्षक तथा डाइलासिस विभाग प्रमुख विन्दु कँडेलले बताइन् । उनका अनुसार हाल २९ जना डाइलासिसका बिरामीले नियमित सेवा लिइरहेका छन् ।

‘सरकारले डाइलासिस सेवा निशुल्क गरेको छ । सोही अनुसार हामीले सेवा दिइरहेका छौं । तर बिरामीका लागि अन्य औषधि आवश्यक परेमा बिरामी आफैले किन्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘औषधिका किन्नका लागि स्वास्थ्य बिमा गरेका बिरामीले छुट पाउने हुदाँ सहज भएको छ । तर स्वास्थ बिमा नगरेका बिरामीलाई कतिपय औषधि किन्नुपर्ने बाध्यता हुन्छ । त्यसका लागि हामीले सबैलाई स्वास्थय बिमा अनिवार्य गर्न अनुरोध गरिरहेका छौं ।’

उपचारारत डाइलासिसका बिरामीहरुले अस्पतालले दिएको सेवाप्रति सन्तुष्टि जनाएका छन् । अस्पताल स्रोतका अनुसार हाल उपचारारत २९ जना मृगौंला पीडित बिरामीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लाका रहेका छन् । – Thahakabar