कोभिड–१९ व्यवस्थापन आवधिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि सुरु

सुर्खेत – कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कोभिड–१९ व्यवस्थापन आवधिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि सुरु भएको छ । आइतबारदेखि सुरु भएको आर्थिक वर्ष २०७७/०७८ मा संचालित कोभिड–१९ व्यवस्थापन आवधिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि मंगलबारसम्म संचालन हुने भएको हो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा गोष्ठि संचालन भएको छ । गोष्ठिमा मन्त्रालय मातहतका जिल्ला सामाजिक विकास कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यका अनुसार गोष्ठिमा सहभागि कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रतिनिधिले कोभिड–१९ व्यवस्थापनबारे आआफ्नो जिल्लाले गरेको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

गोष्ठिमा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले हालसम्मको रिपोर्ट हेर्दा जिल्लाको प्रगति विवरण सन्तोषजनक नरहेको भन्दै आगामी दिनमा कर्मचारीलाई थप क्रियाशिल भएर काम गर्न निर्देशन दिए । कोरोना माहामारी व्यवस्थापनका लागि आवश्यक सबै सहयोग मन्त्रालय गर्न तयार रहेको भन्दै उनले कर्तव्यनिष्ट भएर काम गर्न अनुरोध गरेका छन् ।