राष्ट्रियसभा : कर्णालीमा गठबन्धन उम्मेदवारको जित सुनिश्चत, एमाले दोब्बर मतले पछि

सुर्खेत – आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णालीबाट सत्तारुढ गठबन्धनका उम्मेदवारको जित सुनिश्चत देखिएको छ । राष्ट्रियसभा सदस्य पदमा कर्णाली प्रदेश अन्तर्गत जम्मा ३ सिटमा सत्तारुढ गठबन्धनका ३ र नेकपा एमालेका ३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिएका छन् । भने नेकपा एमाले सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको छ । जसमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली काँग्रेसले महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्रले अपाङ्गतातर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा (सल्यान) लाई उम्मेदवार बनाएको छ ।

गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले महिलातर्फ गंगा थापा महत (जुम्ला), अपाङ्गता ÷अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुल्लातर्फ चुडामणि शर्मा (सुर्खेत) लाई उम्मेदवार बनाएको छ । मंगलबार सबै उम्मेदवारले सुर्खेत निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराइसकेका छन् ।

हाल राष्ट्रियसभामा कर्णालीबाट निर्वाचित महिलातर्फ कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालिकोट) र अन्य समूहबाट ठगेन्द्रप्रकाश पुरी (रुकुमपश्चिम) को पदावधि सकिँदै छ ।

गठबन्धन उम्मेदवारको जित सुनिश्चत

कर्णालीमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारको जित सुनिश्चत देखिएको छ । नेकपा एमालेका उम्मेदवारहरु कुल मतभारका हिसाबले गठबन्धनका उम्मेदवारसँग दोब्बर मतले पछि देखिएपछि सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवारको जित सुनिश्चत देखिएको हो ।

सत्तारुढ गठबन्धनको जम्मा मतभार २ हजार ९ सय १६ छ । भने नेकपा एमालेको जम्मा मतभार १ हजार ४ सय ३४ मात्र रहेको छ । चुनावका लागि जम्मा १ सय ९१ जना मतदाता छन् । तीमध्ये ३५ जना प्रदेश सभाका सदस्य र १ सय ५८ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख हुन् । प्रदेशसभा सदस्यको मतभार एकजना बराबर ४८ र प्रमुख÷उपप्रमुखको १८ मतभार हुन्छ ।

कुन पाटीको मतभार कती ?

मतभारका हिसाबले कर्णाली प्रदेशमा माओवादी केन्द्रको मतभार सबैभन्दा बढी अर्थात् १ हजार ५ सय १२ छ । माओवादीका ५२ जना प्रमुख÷उपप्रमुख र १२ जना प्रदेशसभा सदस्य छन् ।

त्यस्तै नेकपा एमालेको मतभार कर्णालीमा १ हजार ४ सय ३४ छ । एमालेका ४५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख र १३ जना प्रदेश सांसद छन् ।

नेपाली काँग्रेसको मतभार भने १ हजार २६ छ । काँग्रेसका ४१ जना प्रमुख÷उपप्रमुख र ६ प्रदेशसभा सदस्य छन् । यस्तै नेकपा एकीकृत समाजवादीको मतभार ३ सय ७८ छ । सो पार्टीका १३ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख छन् । भने ३ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना सदस्य छन् । भने ५ जना प्रमुख÷उपप्रमुख स्वतन्त्र निर्वाचित छन् । उनीहरुले मत कसलाई दिन्छन् भन्ने प्रष्ट छैन ।

हाल जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी निलम्बनमा परेका छन् । उनी मतदानमा भाग लिन पाउँदैनन् । त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भइसकेको छ । भने अर्का मतदाता कालीकोट तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली लामो समयदेखि सम्पर्कमा छैनन् ।