कर्णाली प्रदेश अस्पतालबाट ११४ जनाले डाइलासिस सेवा लिए

सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १ सय १४ जनाले डाइलासिस सेवा लिएका छन् । डाइलासिस सेवा सुरु भएदेखि हालसम्म १ सय १४ जनाले सेवा लिएको असपताललले जनाएको छ । प्रदेश अस्पतालमा २०७४ मंसिरबाटे डाइलासिस सेवा सुरु भएको थियो ।

विभिन्न कारणले दुबै मृगौंला फेल भई उपचारारत बिरामीहरुले हप्तामा दुई पटकसम्म निशुल्क डाइलासिस सेवा लिइरहेको अस्पताल नर्सिङ निरीक्षक तथा डाइलासिस विभाग प्रमुख विन्दु कँडेलले बताइन् । उनका अनुसार हाल २९ जना डाइलासिसका बिरामीले नियमित सेवा लिइरहेका छन् ।

‘सरकारले डाइलासिस सेवा निशुल्क गरेको छ । सोही अनुसार हामीले सेवा दिइरहेका छौं । तर बिरामीका लागि अन्य औषधि आवश्यक परेमा बिरामी आफैले किन्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘औषधिका किन्नका लागि स्वास्थ्य बिमा गरेका बिरामीले छुट पाउने हुदाँ सहज भएको छ । तर स्वास्थ बिमा नगरेका बिरामीलाई कतिपय औषधि किन्नुपर्ने बाध्यता हुन्छ । त्यसका लागि हामीले सबैलाई स्वास्थय बिमा अनिवार्य गर्न अनुरोध गरिरहेका छौं ।’

उपचारारत डाइलासिसका बिरामीहरुले अस्पतालले दिएको सेवाप्रति सन्तुष्टि जनाएका छन् । अस्पताल स्रोतका अनुसार हाल उपचारारत २९ जना मृगौंला पीडित बिरामीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लाका रहेका छन् ।