केही भू–भागमा हिमपात हुने, काठमाडौंमा मौसम बदली


काठमाडौं – देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजराति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“जनकपुर, भैरहवाजस्त तराईका क्षेत्रमा हुस्सु कुहिरो लागेको छ । तर, दिउँसो घाम लागेपछि यो हटेर जानेछ,” मौसमविद् पौडेलले भने, “काठमाडौंमा आज बाक्लो मात्रामा हुस्सु र कुहिरो छैन ।”

काठमाडौंमा आज बिहान ३.५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हो । बिहान काठमाडौंमा घाम लाग्नेछ भने दिउँसो आंशिक बदली हुनेछ । “आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ । घाम लाग्ने र बादल लाग्ने हुनेछ,” मौसमविद् पौडेल भन्छन् ।