कोरोना जित्नेहरु समाजसँग हार्दै….

 सुर्खेत – कोरोनालाई जित्दै घर फर्कनेहरु समाजसँग भने हार्ने गरेका छन् । कोरोना संक्रमित भएको र आफुलाई पनि सर्छ कि भन्ने डरका कारण उनीहरुलाई समाजमा एक्ल्याउने प्रयास गर्नेहरुका कारण कोरोनालाई जित्नेहरु पनि समाजसँग हार्ने स्थितिमा पुगेका हुन् ।

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले मान्छेको स्वास्थ्य र विश्वको अर्थतन्त्रलाई मात्र छिया–छिया बनाएको छैन । मान्छेको मनलाई समेत छिया–छिया बनाएको छ । कोरोनाले छुने हो कि भन्ने डरले संयमता अपनाउँदा अपनाउँदै पनि अचानक छोएको कोरोनालाई जित्नेहरु पनि समाजसँग हार्ने डरमा छन् ।
जेठको अन्तमा भारतबाट आएका सुर्खेत चौकुनेका ३३ वर्षिय पुरुषले कोरोनालाई जिते । कोरोना जितेपछि नयाँ जीवन पाएकोमा खुसीले गद्गद् भएका उनी जब आफ्नो गाउँमा फर्के तब समाजले उनलाई स्वीकार्न सकेन ।

उनले कोरोना जितेको र अहिले आफू कोरोना संक्रमित नभएको बताएपनि घर छिमेकमै रहेको पसलमा सामान किन्न पाएनन् । उनले भारतबाट कमाएर ल्याएको पैसा समेत आफ्नै श्रीमतीले चलाउन नमानेको उनको दुखेसो छ । आफूले कोरोना जितेकोले यसबाट सचेत हुनुपर्ने तर खासै डराउनु नपर्ने बताउँदै आएका ती युवालाई आफ्नै घर परिवार र छिमेकीले समेत उनी कोरोना पोजेटिभ होलान् झैँ ब्यबहार गरे । ‘कोरोना जितियो तर गाउँ समाजको मन जित्न सकिएको छैन’, उनले भने । कोरोना जितेर घर फर्केपछि मानिसले गरेको ब्यबहारले मन दुख्ने गरेको उनको भनाई छ ।
यस्तै सुर्खेतको वीरेन्द्रनगर ९ का ५४ वर्षिय पुरुष कोरोनालाई जितेपछि घर फर्किए । उनी घरमा पुगेपछि २५ दिन सेल्फ क्वारेन्टाइनमा समेत बसे । अहिले उनी पूर्ण रुपमा स्वस्थ छन् । भारतबाट फर्किएकाले पुरा गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनि घर फर्किएका हुन् ।

तर उनलाई देख्दा समाजका कोहीले कोरोना जितेर आएको भन्दै आँखाको इसारामा कुरा गर्ने गर्दछन् भने कोहीले सञ्चो भएकोमा बधाई पनि दिए । ‘तर आफु र आफ्ना बालबालिकालाई समुदायमा गरिएको ब्यबहारले उनलाई निकै दुखि बनायो । म कोरोना पोजेटिभ भएर आइसोलेसनमा थिए ।

मेरो बच्चाहरुलाई गाउँघरमा तिम्रो बाबा त कोरोना पोजेटिभ हो तिमिहरु हाम्रो नजिक नआउ कोरोना फैलिन्छ भनेर दुव्र्यबहार गरिएछ जुन कुराले मलाई सारै चित्त देख्यो जवकि म घरैमा नआएर सिधै क्यारेन्टाइनमा गएको थिए ।’ उनले भने ।
यसैगरि दैलेखको आठबीस नगरपालिका ६ का एक युवकले पनि गएको असार अन्तीम साता कोरोना जिते । कोरोना जित्नका लागि आफ्नो आत्मबल बढाउनु पर्ने र दैनिक कार्यमा ध्यान दिन सक्ने हो भने त्यत्ति गारो नहुने भएपनि समाजको मन जित्न भने गा¥हो हुने उनको अनुभव छ ।

अस्पतालबाट डिस्चार्ज भई घर गएर १४ दिन होम क्वारेन्टाइनमा बसेपछि मात्र उनी घर बाहिर आएका थिए । तर पनि उनलाई कोरोना नै छ कि भनेर उनी बाहिर निस्किँदा छिमेकीको पसल नै बन्द हुनु र कोहि पनि आफ्नो नजिक आउन डर मान्नुले उनको मन नराम्रोसँग कुँडिएको छ । आफूले देखे भोगेका कुराहरु समाजमा सचेतनाका रुपमा बाँड्न चाहेको भएपनि समाजले आफुलाई त्यो अवसर नै प्रदान गर्न नसकेको उनि बताउछन् । ‘म मात्र होइन मेरो घरपविार समेत समाजका हेलाको पात्र जस्तै बनेका छन् ।’ उनले भने ।
यी त कोरोना संक्रमण भएका उदाहरणीय पात्रहरु मात्र हुन् । कोरोना जितेर घर फर्केकाहरु समाजसंग हार्ने डरले पिरोलिएका छन् । कोरोना संक्रमित भएर निको भएकाहरु मात्र होइन सबै सचेत हुनु पर्ने र सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न आवश्यक रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोभिड –१९ फोकल पर्सन डा. प्रदीप न्यौपाने बताउछन् । कसैले पनि कसैलाई भेदभाव गर्न नहुने डा. न्यौपानेको भनाई छ ।
यसैगरि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले दिएको जानकारी अनुसार कर्णालीमा हाल सम्म २२ सय ९५ जना कोरोना संक्रति भएका छन् । यसका साथै निको भई डिस्चार्ज हुनेको सख्या १९ सय ९२ रहेको छ ।