बस र जहाजकाे भाडा दर बराबर !

फाइल तस्बिर

हवाइ यातायातमा प्रतिस्पर्धा हुँदा अधिकांश गन्तव्यको भाडा घटेको छ। हवाइ कम्पनीहरुले कुनै गन्तव्यमा एसी बसबराबरकै भाडा लिइरहेका हुन्।

दैनिक तलमाथि हुने हवाइ भाडा सोमबार र मंगलबारको लागि सिमरा र पोखरा १५ सय रुपैयाँ रहेको छ।

यति एयरलाइन्सले ‘यति सस्तो अफर’ ल्याएको छ। कम्पनीले सोमबार र मंगलबार लागु हुने गरी काठमाडौं–सिमरा र काठमाडौं–पोखरा उडानको १५ सय रुपैयाँ मात्रै रहेको छ।

त्यस्तै बुद्ध एयरको पनि मंगलबारको लागि एकतर्फी भाडा १६ सय ४५ रुपैयाँ तोकेको छ।

यति एयरलाइन्सले शनिबारसम्म काठमाडौं सिमरा र पोखरा १५ सय, भैरहवा १८ सय, विराटनगर १८ सय, भद्रपुर १९ सय र नेपालगंजको २५ सय भाडा तोकेको थियो।

यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले हवाइ यात्रु कम हुँदा भाडामा प्रतिस्पर्धा भइरहेको बताएका छन्। उनले यात्रुको चाँप हेरेर भाडा बढ्ने घट्ने गरेको बताए।

‘यात्रु कम भएपछि भाडा त घटिहाल्छ’, बर्तौलाले भने, ‘विगतका वर्षमा पनि वर्षातको समयमा यात्रुको चाँप कम नै हुन्थ्यो। यो वर्ष कोभिडको कारणले झनै मानिस आउजाउ कम गरिरहेका छन्।’

बर्तौलाले सबै गन्तव्यको मूल्य भने नघटेको बताए। पर्यटक आउजाउ गर्ने पोखरा, भैरहवा, नेपालगञ्ज लगायतका क्षेत्रमा भाडा घटेको उनी बताउँछन्।

‘एउटै गन्तव्यको पनि सबै उडानमा छुट हुँदैन। केही सिट संख्या छुटमा दिइएका हुन्छौँ’, बर्तौलाले भने, ‘कस्तो अफर रहेको छ भन्ने यति एयरलाइन्सको एप वा फेसबुक पेजमार्फत जानकारी लिन सकिन्छ।’

बुद्ध एयरलाइन्सका बजार प्रमुख रुपेश जोशीले यात्रुको चापअनुसार नै भाडा घटीबढी हुने बताउँछन्।

‘हामीले सबै गन्तव्यमा बुद्धको उडान भरिरहेका छौँ’, जोशीले भने, ‘पछिल्लो समय क्षेत्रीय उडान गरिरहेका छौँ। यात्रु कम भएको गन्तव्यमा उडानभाडा केही सस्तो रहेको छ।’ हवाइ कम्पनीका अनुसार ९० प्रतिशत अकुपेन्सीसहित उडान भरिरहेका छन्।