प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असार २८ गते पुनस्स्थापित भएर करिब एक महिना चलेपछि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

एकजना मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले आजै मध्यराति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो।

सोमबार प्रतिनिधिसभा बैठक बसेपछि अधिवेशन अन्त्य हुने भएको हो। दल विभाजनसम्बन्धी कानुन अघि बढाउन नपाएर सरकारले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन।

यस्तो अवस्थामा सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने तयारी गरेको छ।

कांग्रेस- माओवादी नेतृत्वको गठबन्धनले माधवकुमार नेपाललाई एमाले फुटाएर नयाँ पार्टी बनाउन सहज बाटो खोलिदिने तयारी गरेका छन्।

गठबन्धन सरकारले पार्टी फुटाउनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई खुकुलोद बनाउने तयारी गरेका छन्।

जसअनुसार दल वा केन्द्रीय कमिटिमा ४० प्रतिशत पुगे हुने प्रावधान तथा ४० प्रतिशतको थ्रेस होल्डलाई ३० या ३५ प्रतिशतमा झार्ने रणनीति गठबन्धनले बनाएको छ।

तत्कालै संसद अन्त्य गरेर दल विभाजनसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याउने तयारीमा गठबन्धन जुटिसकेका छन्। त्यसपछि माधव नेपाल समुह पनि सत्तामा आउने विश्वास काग्रेस र माओवादीले गरेका छन्।

पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेदेखि सुरु भएको थियो। संघीय संसदका दुवै सदनको अधिवेशन अहिले जारी छ। सरकारले प्रतिनिधिसभा बिजनेस दिन असफल भइरहेको छ।

राष्ट्रिय सभामा विवादमा नपरेका केही विधेयकमा छलफल गरेर तल्लो सदनमा पठाइरहेको छ। तर तल्लो सदनले यी विधेयकमाथि छलफल थाल्नै सकेको छैन।

संसदलाई बिजनेस दिने जिम्मेवारी बोकेको सरकार नै एक महिनादेखि विस्तार हुन सकेको छैन। शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि नागरकिता कानुन, अमेरिकी परियोजना एमसिसी आदि पास गर्नुपर्ने दबाब थियो।