संसदले बिजनेस माग्दा माग्दै अन्त्य गरियो अधिवेशन

२९ दिनमा संसदले के के गर्‍यो?

काठमाडौं – सर्वोच्च अदालतले असार २८ गते दोस्रो पटक पुनस्स्थापना गरेको प्रतिनिधिसभाको चालु अधिवेशन बिजनेस नै नपाइ अन्त्य भएको छ। राष्ट्रियसभाको पनि चालु अधिवेशन आजै राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसदका दुवै सदनको बैठक अन्त्य गर्न सिफारिस गरेको हो। सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन अन्त्य गरेको पत्र सभामुख अग्नि सापकोटाले सुनाए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते विघटन गरेको प्रतिनिधि सभा असार २८ मा सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो। यससँगै आजै रातिबाट दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ।

त्यही दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि अदातलबाट परमादेश जारी भएको थियो। प्रतिनिधिसभा पुनस्स्थापना भएपछि साउनको ३ गते पहिलो बैठक बसेको थियो।

बर्खे अधिवेशन सुरु भएको २६ दिनमा प्रतिनिधिसभाका ९ वटा बैठक बसे। तर सर्वोच्चको परमादेशबाट शेरबहादुर देउवाको नेतृत्वमा आएको गठबन्धन सरकारले बिजनेस दिनै सकेन।

अधिवेशन सुरु भएको दिनदेखि साउन ३२ गते सोमबारसम्म जम्मा २९ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसी जम्मा २० घण्टा १५ मिनेट ससंदीय काम कारवाही भएको सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई जानकारी गराए ।

तर कुनै पनि बिजनेसमा छलफल नै नगरी प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। तत्कालीन ओली सरकारले ल्याएका १५ वटा अध्यादेशमाथि छलफल नगरी सरकारले संसद् अधिवेशन अन्त्य गरिदिएको छ ।

अधिवेशन अन्त्य गर्ने विषयमा सभामुख अग्नि सापकोटासँग प्रधानमन्त्री शेरबहादुर देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटक–पटक सल्लाह गरेका थिए ।

तर, सभामुख सापकोटाले तत्काल संसद अन्त्य गर्नुभन्दा बिजनेससहित प्रभावकारी बनाउँदा उपयुक्त हुने सुझाव दिएका थिए। सभामुखको सुझाव समेत नसुनेर सरकारले संसद अन्त्य गरिदिएको हो।