विद्यालयको किताबका ‘कभर’ मा अब कोरोनाबारे जानकारी

काठमाडौं- सरकारले कोरोना भाइरसबारे सचेतनाका लागि विद्यालय तहका किताबमा सन्देशमुलक जानकारी राखेको छ।

किताबको कभरको भित्रपट्टी कोरोना भाइरसका मुख्य लक्षणहरू, लक्षण देखा परेमा नजिकका तोकिएका स्वास्थ्य केन्द्रमा जानुपर्ने र भाइरसबाट बच्ने उपायबारे जानकारी राखिएका छन्।

पाठ्यक्रम विकास केन्द्रले दिएको जानकारीअनुसार कोरोनाबारे सतर्क रहन किताबमै यस्तो जानकारी राखिएको हो। किताबमा राखिएको जानकारीमा कोरोनाबारे स-चित्र बर्णन गरिएको छ।

बिरामीदेखि चिकित्सकसम्मका भूमिका अथ्याउने गरी रंगीन चित्र र आवश्यक जानकारी राखिएका छन्। साबुनपानीले हात धुन, मास्क लगाउन, भीडभाडमा नजान र विदेशबाट आएका मानिस अनिवार्य १४ दिन आइसोलेसनमा बस्नुपर्ने जानकारी राखिएको हो।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार यहि शैक्षिक सत्रमा पठनपाठन गर्न पठाइएका किताबमा कोरोनाबारे जानकारी राखिएका हुन्।

‘कक्षा २, ३, ६ र ११ का किताबको भित्री कभरमा कोरोनाबारे जानकारी राखिएको छ,’ निर्देशक भट्टराईले भने, ‘शिक्षा मन्त्रालयको निर्णयअनुसार कोरोना महामारीबारे विद्यार्थीलाई जानकारी दिने सन्देशमुलक सामग्री राखेको हो।’

जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनहरूबाट छापिएका विद्यालयका किताबमा पनि कोरोनाबारे जानकारी राखिएको उनले जानकारी दिए।

‘कोरोनाबारे राखिएका सन्देश छापिएका किताब विद्यार्थीका हातमा पुगिसकेका छन्,’ उनले भने, ‘कक्षा ६ का केहि किताब पुगेका छैनन् कि!’ कक्षा २ र ३ का परीक्षण किताव एक सय तीन वटा विद्यालयका विद्यार्थीकहाँ पठाइन्छ।

नयाँ पाठ्यक्रमअनुसार एक सय तीन विद्यालयमा नयाँ किताव लागू हुँदैछ। साथै कक्षा ६ का किताव २८ वटा विद्यालयमा पठाइएको हो।

‘नयाँ पाठ्यक्रम आइसकेपछि केहि विद्यालयमा परीक्षण गर्छौं। एक वर्ष परीक्षणपछि मात्रै सबै विद्यालयमा पठनपाठनलाई किताब पठाइन्छ,’ उनले भने।

यसै वर्ष छापिएका नयाँ कितावमा मात्रै कोरोनाबारे जानकारी राखिएको हो।

‘सबै किताबमा एकै सन्देश राखिएका छन्, उक्त सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको हो,’ भट्टराईले भने। उक्त सन्देशमा कोरोनालाई भाइरस नभनेर रोग भनिएको छ।

सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई नि:शुल्क किताव उपलब्ध गराउँदै आएको छ। कोरोनाभाइरसले नयाँ शैक्षिक सत्रका पठनपाठन प्रभावित भएका छन्।

सरकारले भदौ १५ गतेदेखि विद्यार्थी भर्ना सुरू गर्ने गृहकार्य गरिरहेको छ।

असार १ गतेदेखि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको थियो।सेतोपाटीबाट ।