नेपाल प्रहरी अस्पतालका दुई डिआइजीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं- महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको हो। अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए।

बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो। उनीहरूको रिपोर्ट शनिबार बिहान आएको थियो।

‘आइतबारसम्म हेडक्वार्टरमा एक सय ५५ जनामा संक्रमण देखिएको छ,’ कडायतले भने,’सबैको विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको छ।’

त्यस्तै महानगरीय प्रहरी कार्यालाय रानीपोखरीमा पनि ३० जना प्रहरीमा संक्रमण देखिएको एसएसपी कडायतले जानकारी दिए।

नेपालभर ६ सय २० जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३ सय ८०को उपचार भइरहेको छ भने २ सय ४० जना निको भइसकेका छन्।