एजेन्सी – नेदरल्यान्ड्स फुटबल एसोसिएसनले लुइस भान गाललाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।
उनले फेरि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन्। यसअघि उनी दुईपल्ट नेदरल्यान्ड्सको प्रशिक्षक भइसकेका छन्।
ुडच फुटबल टोली मेरो मनमा बसेको छ र राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक जस्तो महत्त्वपूर्ण जिम्मेवारी पाएर देशको फुटबलको विकासमा योगदान गर्न पाउँदा म अत्यन्त हर्षित छु,ु उनले भने।
नेदरल्यान्ड्सले अर्को महिना विश्व कपको क्वालिफाइङ चरणका ३ खेल खेल्नेछ। युरो कपको निराशाजनक प्रदर्शन बिर्सेर गालको प्रशिक्षणमा टोलीले गतिलो प्रदर्शन गर्ने अपेक्षा डच फुटबल एसोसिएसनले राखेको छ।
सेप्टेम्बरमा हुने क्वालिफाइङ खेलको तयारीका लागि हामीसँग पर्याप्त समय छैन,ु उनले भने, त्यसैले हाम्रो तत्कालको प्राथमिकता खेलाडीको सय प्रतिशत फिटनेस र टोलीले अपनाउने रणनीति हुनेछ।ु
फ्र्यांक डे बोरका ठाउँमा ६९ वर्षका गाललाई नियुक्त गरिएको हो। डे बोरले एक महिनाअघि राजीनामा दिएका थिए। यस वर्ष नै भएको युरो कपको प्रि–क्वार्टर फाइनलमा चेक रिपब्लिकसँग पराजित भएपछि डे बोरले पदबाट राजीनामा दिएका थिए।
भान गालले यसअघि सन् २००० देखि २००२ सम्म र सन् २०१२ देखि २०१४ सम्म नेदरल्यान्ड्सको फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मवारी सम्हालेका थिए। सन् २०१४ मा राष्ट्रिय टोलीको प्रशिक्षक छाडेपछि उनी बेलायती क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका थिए।
सन् २०१६ मा म्यानचेस्टर युनाइटेडले उनलाई बर्खास्त गरेयता उनी प्रशिक्षणबाट टाढै बसेका थिए।
भान गालले प्रशिक्षकका रुपमा २० विभिन्न प्रमुख प्रतियोगितामा आफ्ना टोलीलाई जिताएका छन्। जसमध्ये स्वदेशी क्लब आयाक्स, स्पेनी क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधी दिलाउनु पनि पर्छन्।
ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा उनको प्रशिक्षणमा नेदरल्यान्ड्स तेस्रो भएको थियो। त्यसपछि बेलायतको म्यानचेस्टर युनाइटेडको प्रशिक्षक भएका उनले म्यान यूलाई एफए कप दिलाएका थिए।
सन् २०१४ मा गालले छाडेपछि अहिलेसम्म गस हिडिंक, ड्यानी ब्लाइन्ड, डिक एडभोकाट र रोनाल्ड कोम्यानसहित ७ जनाले डच राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालिसकेका छन्।