माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै, एमाले विवाद आजै वारपार हुने दावी

काठमाडौं – नेकपा एमालेले माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा आपत्ति जनाएको छ। उक्त समूहले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई एमाले संस्थापनले आग्रह गरेको हो।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन्। एमालेको माधवकुमार नेपाल पक्षले आज बैठक आह्वान गरेको छ। हिजो बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको थियो तर तयारी नपुगेको भन्दै बैठक आज बिहान ११ बजे सम्मलाई सारिएको एमाले नेता वेदुराम भुषालले जानकारी दिए।

बैठक बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने छ। बैठक पार्टी एकता र सरकारलगायतका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपालले बैठक बोलाएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धनभित्रका दल आन्तरिक समस्यामा फसेपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनमा सकस परिरहेको छ। गठबन्धनले मन्त्रालयगत भागबण्डासमेत बाहिर ल्याएको छैन।