काठमाडौं – मंगलबार संन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व-कप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन्। बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फकिर्ने बताएका हुन्।
राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। उनको घोषणाले सरोकारवालाहरु आश्चर्यमा परेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा पूर्व-कप्तान पारस खड्काले भने धेरै सोच विचार गरेर संन्यासको निधो गरेको बताए।
अबको बाटो कुन? भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए।
पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पुर्याएको योगदान सबैले मुक्त कण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ। जुन जिज्ञासा बुधबारको भेटघाट कार्यक्रममा खड्का आफैँले उत्तर दिए।
नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरुको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्तिभन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए।
संन्यासको घोषणा गरेका पूर्व-कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आफू रहेको बताए। खड्काले सोचे जस्तो व्यवस्थापकीय यात्रा गर्न चुनौती छ। किनकि क्यानको विधानले क्रिकेट करियर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचन भाग लिन पाउने प्रावधान छ।