कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना संक्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ ।
अस्पतालमा सुत्केरीका लागि आएका सात जना गर्भवतीकाे जोखिमबीच सफल सुत्केरी गरिएको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यातले जानकारी दिईन्। डा.सुबी बस्न्यात र उनकाे नेतृत्वको टोलीलाई कोभिड–१९ को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । यही महामारीको संकटमा उक्त टोलीले कोरोना संक्रमित पाँच जना गर्भवतीलाई नर्मल सुत्केरी र दुईजनालाई शल्यक्रिया गर्न सफल भएको छ ।
सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम हुन्छ । यसपटक आफ्नो ज्याननै धरापमा राखेर कोरोना सक्रमितको ज्यान जोगाएर सेवा गर्न पाएकोमा डा. सुवि सहितको टिम खुशी भएको छ । शुरुमा सिंजा गाउँपालिकाको कोरोना संक्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेको थियाे तर पछि बिस्तारै डर कम हुँदै गएको र सफल भएको जनाइएको छ ।
प्रतिष्ठानले संक्रमणको जोखिमको समयमा नर्स तथा शल्यक्रिया कक्षका सबै स्टाफको ठूलो भूमिका रहेको जनाएको छ । टोलीले अहिले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिंजा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना संक्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तथ्याङ्कमा छ ।
संक्रमित गर्भवतिको सुत्केरी तथा सल्यक्रियामा स्त्रीरोग विशेषज्ञ डा.राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ लगायतको टोलीले सफल पारेको छ । स्त्रीरोग विशेषज्ञ डा.शाहले संक्रमित सात गर्भवती मध्य चारको सामान्य सुत्केरी, दुईको शल्यक्रिया र एक जना सिभिएर प्रिक्लाम्सिया ( गर्भपति अबस्थामा उच्च रक्तचापबाट हुने समस्या) भएको गर्भवतीको पनि उपचार गराईएको जानकारी दिए ।
बन्दाबन्दीमा अस्पतालमा हुने सुत्केरी दर बढ्यो
पहिले प्रति महिनामा सुरक्षित गर्भपतनका लागि प्रतिष्ठानमा १०–१५ जना आउने गरेकोमा बन्दाबन्दीमा ३०–४० जना आउने गरेका प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा आएका केहीलाई अस्पताल आईसकेपछि परीक्षण गरेर कोरोना पुष्टि भएको र केहीलाई घरबाटै ज्वरो आएर लक्षण सहित आएका जनाईएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु पनि बढ्न थालेका छन् ।
स्वास्थ्यकर्मीको संघर्ष
काडमाडौं महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा.सुबी बस्न्यात अढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । यो समयमा गर्भवती महिलाहरुको केस बढी आउने भएकोले घर जान नपाईएको उनले बताइन । डा.सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत छन्। कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आएकी डा.बस्न्यात र उनका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आएका छन् ।
डा . सुवि र रविन्द्र जस्तै स्वास्थ्यकर्मीहरु अहिले उच्च जोखिमा छन् । अरुलाई भौतिक दुरीको कायम गर्न सचेतना भईरहेको समयमा स्वास्थ्यकर्मी संक्रमित सँगै काम गर्न वाध्य छन् । अहिले कर्णाली प्रतिष्ठानका सयौ स्वास्थ्यकर्मी, कर्मचारी कोरोना बिरुद्धको यूद्धमा छन् । (गोरखापत्र)