कर्णालीमा पछिल्लो समय भ्रष्टाचारको स्वरुप फेरिएको छ-कार्यालय प्रमुख रिसाल

सुर्खेत – पछिल्लो समयमा भ्रष्टाचारको स्वरुप फेरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख नारायण प्रसाद रिसालले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा भ्रष्टाचारको स्वरुप फेरिएको बताएका हुन। बिहीबार पत्रकारसँगकाे ‘भर्चुअल कन्फरेन्स’मा अहिले सेवाग्राहीसँग सिधै घुस लिनु भन्दापनि तेस्रो पक्षसँग सम्बन्ध बनाएर अनियमितता गर्ने गरेको कार्यालय प्रमुख रिसालको भनाई छ । चेक तथा बैंक मार्फत घुस दिने लिने कार्य हुन थालेकोले अख्तियारले त्यसतर्फ समेत अनुसन्धान गरिरहेको रिसालले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा बेनामी उजुरीहरु धेरै पर्ने गरेको कार्यालयले जनाएको छ । प्रमुख रिसालका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा जम्मा १ हजार ८० उजुरी मध्ये ६ सय ४० वटा बेनामी उजुरीहरु आएका छन् । स्थानीयतह भन्दा दोस्रोमा भने शिक्षा क्षेत्रका उजुरीहरु छन् ।

सुर्खेतका २३८ उजुरी मध्य १७५ फछ्र्यौट भएका छन भने ८१ फछ्र्यौट हुन बाँकी छन् । दैलेखका १८६ उजुरी मध्य ११८ फछ्र्यौट भएका छन भने ६८ फछ्र्यौट हुन बाँकी छन् । जाजरकोटका १४४ उजुरी मध्य ८४ फछ्र्यौट भएका छन भने ६० फछ्र्यौट हुन बाँकी छन् । कालिकोटका १०२ उजुरी मध्य ३३ फछ्र्यौट भएका छन भने ६९ फछ्र्यौट हुन बाँकी छन् । जुम्लाका ८४ उजुरी मध्य ३६ फछ्र्यौट भएका छन भने ४८ फछ्र्यौट हुन बाँकी छन् । सल्यानका ८० उजुरी मध्य ६० फछ्र्यौट भएका छन भने २० फछ्र्यौट हुन बाँकी छन् । रुकुम (पश्चिम) का ७८ उजुरी मध्य ५४ फछ्र्यौट भएका छन भने ४२ फछ्र्यौट हुन बाँकी छन् । हुमलाका ६६ उजुरी मध्य २६ फछ्र्यौट भएका छन भने ४० फछ्र्यौट हुन बाँकी छन् । मुगुका ५३ उजुरी मध्य २० फछ्र्यौट भएका छन भने ३३ फछ्र्यौट हुन बाँकी छन्  । यसका साथै डोल्पाका ४९ उजुरी मध्य २५ फछ्र्यौट भएका छन भने २४ फछ्र्यौट हुन बाँकी छन् ।

आर्थिक वर्ष २०७५/०७६ बाट दायित्व सरि आएका ४११ उजुरी समेत आर्थिक वर्ष २०७६/०७७ मा १०८० उजुरी भएकोमा ६१३ उजुरीहरु फछ्र्यौट भइसकेका छन् भने ४६७ उजुरीहरु बाँकी रहेको कार्यालय प्रमुख रिसालले बताए ।
यसैगरि उजुरी फछ्र्यौटको संख्यामा भने बृद्धि भएको उनकाे भनाई छ। आर्थिक वर्ष २०७५/०७६ मा ५६.१ प्रतिशत मात्र उजुरी फछ्र्यौट भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ५६.७६ प्रतिशत उजुरीहरु फछ्यौट भएका छन् । प्रमाण नजुटेका, गोलमटोल प्रकृतिका ३४५ उजुरीहरु तामेलीमा रहेका छन । भने एकै प्रकृतिका १०९ उजुरीहरुलाई एकिकरण गरिएको जनाइएको छ । यसैगरि विस्तृत अनुसन्धानमा ८३ वटा उजुरीहरु रहेका छन् आफ्नो कार्यक्षेत्र अन्तर्गत नपर्ने एउटा उजुरी अन्य निकायमा पठाइएको बताइएको छ ।

मन्त्रालयगत रुपमा हेर्ने हो भने सबैभन्दा बढि स्थानीय तह (संघीय मामिला) मन्त्रालयका उजुरीहरु आएका छन् । ३५९ वटा उजुरी स्थानीय तहका आएका छन् सबै भन्दा कम खेलकुद मन्त्रालय अन्तर्गतको एउटा मात्र उजुरी आएको छ । यसैगरि जिल्लागत रुपमा हेर्ने हो भने सबै भन्दा बढि उजुरी सुर्खेतका छन् भने सबैभन्दा कम उजुरी डोल्पाका छन् । आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतका २३८ उजुरी परेका छन् भने डोल्पामा ४९ वटा उजुरी मात्र परेका छन् । सुर्खेतका उजुरी धेरै आउनुमा उजुरीकर्ताहरुको पहुँच सहज हुनु पनि हो ।

सबैभन्दा धेरै उजुरीहरु चिठीपत्र मार्फत आउने गरेको बताइएको छ । जस अन्र्तगत ८९६ वटा उजुरीहरु परेका छन् भने इमेल मार्फत ८९ पत्रपत्रिकामा आएका समाचारबाट ५१ वटा फोनबाट ४१ वटा फेसबुक तथा सामाजिक सञ्जालबाट ३ वटा उजुरीहरु आएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतलाई कर्णाली प्रदेशका १० जिल्लामा कार्यक्षेत्र तोकिएको छ ।

यसैगरि कार्यालय प्रमुख रिसालले भन्नुभयो, ‘स्थलगत रुपमा काम गर्ने कर्मचारीको कमी हुनु पनि समस्याको रुपमा रहेको छ ।’ अर्को तर्फ अभियोग लागेकाहरुले समयमा जवाफ नदिनुले पनि फछ्र्यौटमा ढिलाइ हुने गरेको छ । प्रमाण संकलनका लागि उपकरण समेतको कमी रहेको प्रमुख रिसालले बताए । कर्णालीको भौगोलिक बनावटका कारण पनि केही समस्या रहेको  बताउँदै उनले भने ‘स्थलगत निरीक्षण र अनुसन्धानलाई जोड दिएर भ्रष्टाचार हुन नदिने कुरामा जोड दिइएको छ।’ आयोगको एकल प्रयासबाट भ्रष्टाचार मुक्त समाजको निर्माण गर्न असम्भव भएकोले सबैको साथ र सहयोगको खाँचो रहेको उनकाे भनाई छ।