कर्णालीमा एमाले मिल्न गाह्रो छैन : ज्वाला

सुर्खेत – कर्णालीमा एमाले मिल्न कुनै गाह्रो नभएको  एमाले पोलीटव्यूरो सदस्य प्रकाश ज्वालाले बताएका छन् । फ्लो क्रस गरेर माओवादी सरकार जोगाइदिएपछि कारवाहीमा परेका तर सर्वोच्च अदालतले पुर्नस्थापित गरिदिएका ज्वालाले यस्ताे बताएका हुन् ।

‘केन्द्रमा मिलेको खण्डमा हामीलाई मिल्न कुनै गाह्रो छैन । हामी एमाले मिलोस भनेर नै लागिरहेका छौं । म अहिले काठमाडौंमा नै छु,’ ज्वालाले भने, ‘एमाले मिलेको खण्डमा कर्णालीमा एमालेको सरकार बन्छ तर मुख्यमन्त्री र मन्त्री को बन्ने भन्ने बारेमा हामी आफै छलफल गर्छौं र तत्काल निर्णयमा पुग्छौं ।’ उनले काठमाडौंमा एमालेमा भइरहेका वार्ताले आफूहरुलाई उत्सािहत बनाई दिएको प्रतिक्रिया दिएका छन् । ‘काठमाडौंमा सहमति करिब भइसकेको छ । एमाले एक हुन्छ,’ उनले भने ।

एमाले सांसद एवम भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मर थापाले केन्द्रमा सहमति भए एमालेको सरकार बन्ने बताए । पश्चिम सुर्खेतको विद्यापुरमा रहेका मन्त्री थापाले एमाले कर्णालीमा मुख्यमन्त्रीमा दलका नेता यामलाल कंडेल बाहेक अन्यका हकमासहमति हुने बताए । त्यसकालागि कर्णालीमा छलफल गरिने जानकारी दिए । ‘हामी एमाले नै हौं यसमा दुइमत छैन । एमाले केन्द्रको सहमति कार्यान्वयन गर्न कुनै समस्या छैन,’ मन्त्री थापाले भने ।

यता, नन्दसिंह बुढाले भने अदालतको अन्तिम निर्णय आवश्यक रहेको बताए । ‘अदालतको अन्तिम निर्णय आउनदिनुहोस । त्यसपछि केहि समस्या हुँदैन,’ उनले भने, ‘भ्याकेट दर्ता नभएको भए हुन्थ्यो । तर अब अदालतको अन्तिम निर्णयको पर्खाइमा हामी हुन्र्छौं ।’

यसअघि नै कर्णााली एमालेले एमालेको नेतृत्वमा कर्णालीमा सरकार बनाउन कसरत गरिरहेको छ । असार एक गतेदेखि हालसम्म संसद पनि स्थगित भइरहेको छ । एमाले मिलाउन खोज्ने वार्ताकारले हालका तीन जना मन्त्रीलाई निरन्तरता दिने सहमति समेत गरेका थिए । तर उनीहरुले केन्द्रको निर्णय आवश्यक पर्ने बताइरहेका थिए । केन्द्रमा एमाले मिल्ने कुरा सार्वजनिक भएसँगै कर्णालीमा एमाले सरकार बन्ने करिब निश्चित भएको एक एमाले नेताले जानकारी दिए ।