एमाले कार्यदल बैठक सहमति नजिक, भोलि पुनः बस्ने

काठमाडौं – एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए ।

त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए । विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गरे । उनले भने, ‘अहिले विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’