कर्णालीमा लकडाउन खुलेसँगै कोरोनाको ग्राफ उकालो लाग्दै

थप ३१ जनामा संक्रमण पुष्टि

वीरेन्द्रनगर– कर्णालीमा लकडाउन खुलेसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दैनिकजसो बढ्न थालेको छ । असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ उकालो लाग्न थालेको हो । जसले गर्दा अहिले जोखिमसँगै संक्रमणको दर पनि बढ्दै गएको छ ।

कर्णाली प्रदेशमा सोमबार मात्र थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार प्रदेश अस्पताल सुर्खेत, चौरजाहारी अस्पताल रूकुम र दैलेख अस्पतालमा गरिएको पिसिआर परिक्षणमा सोमबार दैलेखका २८ जना, सल्यानका २ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १० पुगेको छ । जसमध्ये १ हजार ६ सय ५८ जना निको भएर घर फर्किसकेका छन् । भने सक्रिय २४६ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कर्णालीमा सोमबार १४ जना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा ६ जनाको ज्यान गइसकेको छ । जेठ ५ गते पहिलो पटक संक्रमण पुष्टि भएको कर्णालीमा उक्त महिनामा अत्याधिक संक्रमित भेटिएका थिए ।

जेठमा मात्र नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो महिना असारमा भने संक्रमणदर अलि घटेको देखिन्थ्यो । असारमा सात सय ५७ जनामा संक्रमण भेटिएको थियो । यी दुई महिनामा संक्रमणदर बढेको पाइएको थियो । असार मसान्तदेखि साउन पहिलो सातासम्मको अवधिमा भने संक्रमण केही घटेको थियो ।

त्यसयता भने दिन प्रतिदिन ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी छ । साउन ६ गते लकडाउन खुलेसँगै संक्रमितहरूको संख्या बढ्न थालेको हो । साउन १ देखि हालसम्म कर्णालीमा एक सय ८२ जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार साउन ६ गते प्रदेशभर १२ जनामा कोरोना संक्रमण देखिएकोमा ७ गते २२ जना संक्रमित थपिएका थिए । त्यस्तै ८ गते ३० जना, ९ गते ११ जना १० गते २७ जना ११ गते २८ र १२ गते ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमणको सुरुवाती चरणमा भारतबाट आउनेहरूको संख्या धेरै भएका कारण उनीहरूमा मात्रै संक्रमण देखिने गरेकोमा हाल भेटिने संक्रमित अधिकांश समुदायस्तरका भएको प्रदेश स्वाथ्यसेवा निर्देशनालयले जनाएको छ । समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराको संकेत भएको चिकित्सकहरूले बताएका छन्। कर्णालीमा पछिल्ला दिनहरूमा भेटिएका अधिकांशको अहिलेसम्म संक्रमण स्रोत भने भेटिने गरेको छैन । जसका कारण स्थानीयमा कहाँबाट कसरी संक्रमण स¥यो भन्ने सवाल उठ्न थालेको छ ।

अधिकांशको संक्रमण स्रोत नभेटिनुले पनि समुदायमा संक्रमण व्यापक भइसकेको अट्कल काट्न सकिने जानकारहरु बताउँछन् । केही दिन पहिले कर्णाली प्रदेशसभाका एक जना सदस्यको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । दैनिकजसो धेरै व्यक्तिको सम्पर्कमा रहने उनलाई संक्रमण देखिएपछि अन्य प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, चालक, पत्रकार गरी झण्डै तीन सय जनाको पीसीआर परीक्षण भयो । तर, उनको सम्पर्कमा रहेका कसैमा पनि संक्रमण देखिएन ।

सबैको रिपोर्ट नेगेटिभ आयो । त्यो भन्दा केही दिन पहिले जाँच गर्दा ती संक्रमित प्रदेशसभा सदस्यको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । त्यसयता उनी प्रायः प्रदेशसभा बाहेक अन्यत्र गएका पनि थिएनन् । कहाँबाट उनलाई स¥यो र उनीबाट त्यति धेरै सम्पर्कमा रहेका व्यक्तिहरूमा किन संक्रमण सरेन भन्नेमा चिकित्कसहरू समेत अचम्मितमा परे ।

हाल उनी कोरोना संक्रमणमुक्त भइसकेका छन् । लकडाउन खुलेसँगै मानिसहरूले कोरोना संक्रमण हुन सक्छ र त्यसका लागि जुनसुकै स्थानमा सावधानी अपनाउनुपर्छ भन्ने नै बिर्सन थालेको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले उल्लेख गरे। मानिसहरूले बेवास्ता गरेका कारण संक्रमण बढ्ने खतरा रहेको उनको भनाई छ ।