फ्रन्टलाइनर डा. अर्चना भन्छिन्, ‘बिरामी निको भएर घर फर्किदा सबै पीडा भुलिन्छ’

स्वास्थ्यकर्मीका पीडा: ग्यास्ट्रिकदेखि डिप्रेसनसम्म

डा. अर्चना बिरामीसँग

वीरेन्द्रनगर–धेरैलाई लाग्छ ! कोभिड–१९ बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु आफू सुरक्षित छन् । उनीहरुलाई केही असहज छैन ! तर, यथार्थ अलि भिन्दै छ ।

औषधी उपकरणको अभावका बीच रातदिन कोभिड–१९ बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु लामो ड्युटी र निरन्तर खटाइका कारण ग्यास्ट्रिकदेखि डिप्रेसनसम्मको शिकार हुनुपरेको छ । बिरामीको उपचारमा खटिँदा स्वास्थ्यकर्मीले आफन्तसँग महिनौं टाढिनुपर्ने अवस्था छ । कोभिड–१९ का बिरामीको उपचारमा खटिएका अधिकांश स्वास्थ्यकर्मीको पीडा उस्तै छ ।

जस्तो पीडा डा. अर्चना कार्कीको छ । १६ बैशाखदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साविकको कटकुवा स्वास्थ्यचौकीलाई नगर कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि उनले अस्पतालको नेतृत्व गरिरहेकी छन् । अक्सिजनसहितको २५ बेड अस्पताल संचालनमा आएपछि उनको नेतृत्वमा १६ जना कर्मचारीले सेवा दिइरहेका छन् ।

उपचारमा सकस ‘करिब १५-२० दिन अगाडिको कुरा हो । सिकिस्त बिरामीहरु धेरै आउथेँ । सबै बिरामीलाई अक्सिजनको आश्वयक परेपछि पु¥याउनै धौ–धौ भयो । तर, निषेधाज्ञापछि बिरामीको पनि चाप घटेको छ,’ हालैको एकदिन डा. कार्कीले भनिन्, ‘पहिले–पहिले कोभिड–१९ पोजेटिभ भएका बिरामीहरुमा सामान्य रुघाखोकी र ज्वरोको मात्रै लक्षण हुन्थ्यो । तर, अहिले ज्वरो, पखलाजस्ता कडा खालका लक्षण भएका बिरामी आउँछन् ।’

चौबिसै घण्टा अक्सिजन दिनुपर्ने भएकाले उपचारम सकस छ । तर, सिपाहीझै मोर्चामै डटेर सबै बिरामीलाई सेवा दिइरहेको उनले बताइन् ।

सामान्य औषधीले अहिलेको कोभिड–१९ जित्न मुस्किल रहेको अनुभव उनले सुनाइन् । सय जना बिरामीमध्ये झण्डै ८५ जनालाई २४ सै घण्टा अक्सिजन दिनुपर्ने अवस्था छ । एकै पटक धेरै बिरामीलाई अक्सिजन चाहिने भएकाले मुख्य समस्या नै सिलिण्डर र अक्सिजनको जोहो गर्नु रहेको छ । ‘अक्सिजनकै अभावले मृत्युदर बढेको मलाई महसुस हुन्छ,’ उनी भन्छिन्, ‘बिरामी र स्वास्थ्यकर्मीको पनि रेसियो मिलेको छैन ।’

डा.कार्कीकाअनुसार अहिले एक जना डाक्टर तथा नर्सले ३० देखि ३५ जना बिरामीलाई हेर्नु परिरहेको छ । अवस्था कस्तो छ भने सबैलाई एकै पटक श्वास फेर्न गाह्रो भयो भने स्वास्थ्यकर्मीलाई बिरामी कहाँ पुग्नै समय लाग्छ ।

बिरामी निको भएर फर्किदा…

अन्य अस्पतालको तुलनामा वीरेन्द्रनगरको नगर कोभिड अस्पतालमा बिरामी र स्वाथ्यकर्मीको पनि रेसियो मिलेको छ । ड्युटीमा एकजना डाक्टरसहित तीन जना कर्मचारी नियमित भएकाले २५ जना बिरामीलाई हेर्न खासै अप्ठ्यारो नभएको डा. कार्की बताउँछिन् । उनले भनिन्, ‘बिरामी र स्वास्थ्यकर्मी बीचमा कुरा भइरहेको हुन्छ । उपचारमा खटिरहँदा बिरामीसँग राम्रो चिनजान भइसकेको हुन्छ । त्यसैले बिरामी डिस्चार्ज हुनेबेलासम्म पारिवारिक सम्बन्ध भइसकेको हुन्छ ।’ गम्भीर बिरामी उपचार पश्चात जब निको भएर फर्किन्छन्, डा. कार्कीसँगै उनको टिम हर्षविभोर हुन्छ ।

आफन्तसँग टाढा हुँदा

स्वास्थ्यकर्मीले निरन्तर कोभिड–१९ संक्रमितको उपचारमा खटिएकाले अब छिमेकमा कोरोना सार्छन् भन्ने गलत धारणा छ । यसले गर्दा स्वास्थ्यकर्मीको मनोबल घटिरहेको छ । यही कारण दिनरात बिरामीको सेवामा तल्लीन स्वास्थ्यकर्मीप्रति फरक व्यवहार हुन्छ । जसले गर्दा आफूहरुको आत्मबल घट्ने डा. अर्चना कार्की बताउँछिन् ।

‘हाम्रो वरपर कोही आउदैनन् । घर पनि आइसोलेसन नै भएको छ । बच्चासँग कन्ट्रयाक्ट छैन । पोइलीदेखि माइती घरका सबै टाढा भएर बस्नु परेको छ,’ उनले थपिन्, ‘तर, केही हदसम्म मन दुःखेपनि उपचारारत बिरामी निको भएर घर फर्किदा सबै पीडा भुलिन्छ ।’

नेपालमा कोभिड–१९ नभित्रिदै भारत र चीनमा फैलिएको समाचार पढ्दा सुरुमा डा. कार्कीलाई पनि डर लागेको थियो । तर, अहिले आफैले कोभिड–१९ बिरामीको उपचारमा खटिदा त्यो डरलाई उनले जितिसकेकी छन् । कोभिड–१९ सजिलै जितिन्छ भन्ने सकारात्मक उर्जा उनका विकास भएको छ ।

 

ग्यास्ट्रिकदेखि डिप्रेसनसम्म

एक पटक पीपीई लगाएर उपचारमा खटिँदा चार, पाँच घण्टा राउण्ड गर्नपर्ने हुन्छ । डा. कार्की भन्छिन्, ‘त्यो बेला ट्वाइलेट जान र भोक, प्यास लाग्यो भने गाह्रो हुन्छ । त्यसमा पनि हामी महिला डाक्टर तथा स्वास्थ्यकर्मीहरुको महिनावारी पिरियडको समयमा एकदमै कठिनाई झेल्नुपर्छ । बीचमा प्याडहरु चेन्ज गर्न, रेष्ट गर्न मिल्दैन ।’

उनका अनुसार पीपीई लगाएर उपचारमा खटिएको बेला धेरै समयसम्म पिसाब रोक्नपर्ने र पानी पिउन नमिल्ने भएकोले महिला स्वाथ्यकर्मीलाई पिसाब चिलाउने, सेतोपानी बग्नेजस्ता समस्या धेरै देखिएका छन् ।

‘भोक–भोकै उपचारमा खटिनुपर्दा ग्यास्ट्रिकको समस्या भोग्नु परेको छ । लामो समय ड्युटी गर्न पर्दा स्वास्थ्यकर्मीलाई नै स्वास्थ्य समस्या देखिएका छन् । जसले गर्दा ब्लड प्रेसर बढ्ने र तनाव सिर्जना हुने हुँदा स्वास्थ्यकर्मी आफै ग्यास्टिकदेखि डिप्रेसनको शिकार हुनुपरेको छ’ उनले भनिन्, ‘तर सेवा नै हाम्रो धर्म हो । हामी आफ्नो काम र कर्तव्यप्रति पूर्ण जिम्मेवार छौं । त्यसैले सबै मिलेर कोभिड–१९ महामारी रोकथाम गरौं । आफू बचौं र अरुलाई पनि बचाऔं ।’