कोरोना जितेपछि चलचित्र निर्देशक लामिछानेले भने ‘आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ’

काठमाडौँ – चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् । उनले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् ।

‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक साता भएको बताएका छन् ।

‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेस्ट गर्नु पर्नेछ’ लामिछानेले अगाडि लेखेका छन् ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरुमा नमन । अरुसँंग लड्न सजिलो होला, तर आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ ।’

केही गुनासो समेत गरेका लामिछानेले अगाडि भनेका छन् ‘लडे खिसी गर्ने र हिँडे खुट्टा तान्नेहरूको बिचमा उभिएका छौं हामी सबै । को आफ्नो को पराई, को नजिकको टाढा, कसले मन र मुटुबाट बोल्यो, कसले ठिक्क पार्यो, कसले माया गर्यो, कसले मायाको नाटक गर्यो । यो सबै देखे पनि, भोगे पनि । यस्ता सबैमा पनि आभार व्यक्त गर्दछु ।’

लामिछानेले आफ्नो उपचारमा सक्रिय डाक्टरहरु समेत धन्यवाद दिँदै धर्मपत्नीको रुपमा सरिता लामिछाने पाएकोमा आफू भाग्यमानी रहेको धारणा पनि राखेका छन् ।