लकडाउनमा यसरी आफ्ना किशोरवयका दिनहरुमा फर्किए
झट्ट हेर्दा खाँट्टी लाहुेर झै लाग्ने दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक, बटुलो अनुहार । औसत उचाई । जबकी उनी नेपाली सिनेमाका अग्रपंक्तिका अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला–मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छवीलाई भत्काउँदै नेपाली सिनेमामा उनको पर्दापण भएको हो ।
ठ्याक्कै डेढ दशक भयो, दयाहाङले सिनेमा खेल्न थालेको । रामबावु गुरुङको निर्देशनमा निर्माण भएको थियो ‘अनागरिक’, जहाँबाट दयाहाङले सिनेमामा प्रवेश गरे । मनोज पण्डितको ‘दासढुंगा’ पछि उनको अनुहार सार्वजनिक चिनारी बन्यो । निश्चल बस्नेतको ‘लुट’ र रामबाबुकै ‘कवड्डी’पछि भने दयाहाङको धमकेदार उदय भयो ।
कसरी उनी सिनेमाको यो चमक-दमकपूर्ण दुनियामा आइपुगे ? ‘हिरो’ बन्ने सपनाको बिजारोपण कसरी भयो ? दयाहाङको विगतमा फर्कने हो भने आजसम्मको यात्रा पक्कै रोचक लाग्नेछ । पछिल्लो समय उनले आफ्नो फेसबुकमा त्यस्ता तस्वीरहरु सार्वजनिक गरिरहेका छन्, जसले उनको विगत कोट्याउँछ ।
उनले आफ्नो पूर्ख्यौली थलो, आमाबुवा मात्र होइन त्यस बेलाका दौतरीहरुलाई समेत सम्झेका छन् । मणिकुमार राई, उत्तरधन राई, सरोज राई, दिवान राई जस्ता दौतरीलाई उनले भुलेका छैनन् । त्यो वैशालु वयमा उनी कति कलकलाउँदो र निश्चल देखिन्छन् । अति सामान्य ग्रामिण परिवेशमा हुर्किएका उनले त्यसबेला सोचेका थिए होलान्, आजको दिनसम्म आइपुग्दा आफ्नो चिनारी यस्तो बन्छ भन्ने ?
भोजपुरको खावा गाउँमा जन्मिएका, त्यहीको माटोमा हुर्किएका हुन् उनी । ग्रामिण परिवेश, किसान परिवार । गाइबस्तु चराउँदै, घाँस–दाउरा गर्दै उनको किशोरवय विते होलान् । खावाकै दिल प्राथमिक विद्यालयबाट लेखपढ गर्न सिके । भोजपुर बहुमुखी क्याम्पसबाट आइएको पढाई सकाएपछि भने उनी काठमाडौं प्रवेश गरे ।
त्यसो त चर्चाको उत्कर्षमा पुग्दा समेत दयाहाङको दम्भ बढेन । सधै उनी उस्तै देखिए । सबैसंग मिलनसार । मीठो बोली । जस्तोसुकै अवस्थामा पनि दयाहाङले आफ्नो लय र गति गुमाएनन् । सधै एकनास रहे । संभवत त्यही कारण ‘दयाहाङको फिल्म झुर’ भन्नेहरुले पनि दयाहाङलाई चाहि सत्प्रेम स्विकार गरिरहे ।
१. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘पुरानो तस्वीरमा ….बाबा …आमा बहिनीहरू र म ।’
२. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘त्यो बेला …..बहिनी सुस्मा र भाई सुमनसँग ।’
३. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘एउटा सुन्दर सम्झना…………..एसएलसी परीक्षा सकिएपछि साथीहरु सरोज राई र दिवान राईसँग म अन्नपूर्ण माविको प्राङ्गणमा । पछाडि ट्याम्के डँडा, त्यसैको मुनी मैले नै छेकेको मेरो गाउँ । अहिले एसईई परीक्षा रोकिएको यो अवस्थामा तपाईं सम्पूर्ण विद्यार्थी साथीहरु शारीरिक र मानसिक रुपमा तयार रहनुहोला । किनभने तपाईंहरुले एउटा युग हाँक्नुछ ।’
४. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘निक्कै पुरानो तस्वीर….. साथी बिक्रम केसी र म ।’
५. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘उतिबेलाको एउटा पोज …. साथीहरु मणिकुमार राई अनी उत्तरधन राई।’