चार दिनदेखि बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुलामा

 

दार्चुला – गत चैत १३ गते देखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपाली घर फर्काउन भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको उद्धार हुने र सवारी साधन लिएर आउनु भनेपछि जनप्रतिनिधीहरु दार्चुला पुगेका हुन्। तर धार्चुलाका क्वारेन्टाइनमै एक महिनासम्म बस्दा पनि अझै उनीहरुको उद्धार भने अनिश्चित छ। “प्रशासनको सूचनाका आधारमा तयारी भएर आफ्ना नागरिक घर फर्काउन दार्चुला पुगेका हौैं,” बुझाङ जिल्ला बुङ्गल नगरपालिकाका नगर प्रमुख धनबहादुर विष्टले भने,“तर दार्चुला आउँदासम्म माथिको आदेश भन्दै उद्धार गर्न नसकिने जानकारी आएको रहेछ।”

मंगलबार धार्चुलामा रहेका नेपाली ल्याउन बझाङ र बैतडीका जनप्रतिनिधीले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षाकर्मीसँग कुराकानी गरेपनि अहिले नै उद्धार हुने अवस्था नदेखिएको नगर प्रमुख विष्टले बताए। “हाम्रा नागरिकको उद्धारको विषय दिल्ली दरबार र सिंहदरबार को हातमा छ,” उनले भने, “उनीहरुले नचाहेसम्म ल्याउन सकिने अवस्था छैन्।” “गाउँमा बस्दा गाउँका नागरिकले उद्धार नगरेको भन्दै कार्यालयमा आउँछन्। दार्चुला आउँदा माथिले आदेश नदिएको भन्छन्,” उनले भने, ”उद्धार नगरि कसरी गाउँ जाने।”

काठमाण्डौं, धनगढी महेन्द्रनगरबाट दैनिक दर्जनौ बसमा मान्छे गाउँ पठाउन हुने तर यहि धार्चुला क्षेत्रमा काम गर्न गएका नेपाली एक महिनादेखि घर आउन नपाउने सरकारको नीति विभेदकारी भएको उनको भनाई छ। बुंगल नगरपालिकाका मात्रै सीमापारि दुई सय ३४ जना रहेका छन्। उता डिडिहाँटमा ११ जना र झुलाघाँटमा ६० जना बुगल नगरपालिकाकै छन्। “जिल्ला प्रशासन कार्यालयमा बैठक गर्दा पनि अझै दुई तिन दिन कुर्न भनेका छन्,” डिलौशनी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ वडा अध्यक्ष अक्कल बहादुर रानाले भने, “उनीहरु नलगेरै गाउँ जाने अवस्था पनि छैन्।” उनीहरु नआएसम्म यहि धर्नामा छौ।

वडा कार्यालयदेखि गाउँपालिकासम्म गाउँमा स्थानीयले उद्धार नगरेको भन्दै धर्ना दिइरहेका छन्। “दार्चुला आइसक्यौं उनीहरु स्वदेश नल्याएसम्म सदरमुकाम खलंगामै बस्छौ,” पूर्चौडी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामबहादुर ऐरले भने, “आफ्ना नागरिक लिन आएका हौं उनीहरु नलगेर जाने कुरो भएन्।”

पूर्चौडी वडा नम्बर ४ का वडाअध्यक्ष सैलेन्द्र धानुक अप्ठ्यारोमा परेका नागरिकलाई सरकारले तत्कालै उद्धार गर्न नसक्दा समस्या भएको बताउँछन्। पहिल्यै महाकाली तरेर आएकाहरु गाउँमा काम गर्न थाले। १४ दिन क्वारेन्टाइन बसेपछि गाउँको काममा लागे, तर महाकाली तर्न नसक्नेहरु अहिले पनि धार्चुलामै कष्टकर जीवन जीउन बाध्य छन्, धानुकले भने।

धार्चुलामा रहेका पूर्चौडीका ४ का अमृत बोहरा आफ्ना जनप्रतिनिधी लिन आउँदा पनि आफुहरुको उद्धार हुन नसकेकोमा दुखी छन्। एक महिनादेखि क्वारेन्टाइनमा छौ। भएको पैसा सकियो, घरमा परिवार चिन्तामा छन्। अझै कहिले उद्धार गर्ने हुन्। उनले भने।

धार्चुलामा एसडिएमलाई सोध्यो भने नेपाल लिन मानेको छैन् भन्छन्, दार्चुला सोध्दा भारतबाट अनुमति आएको छैन् भन्छन्, उनले भने, दुवै देशका सरकारका कारण आफुहरु अलपत्र परेका छौँ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कँुवर नेपालको तर्फबाट आवश्यक प्रक्रिया पुगाएर भारतलाई जानकारी दिइएको भन्दै भारतले अनुमति दिएपछि उद्धार गरिने बताउँछन्।

“हामीबाट सम्पूर्ण तयारी भएकै छ,” उनले भने, “माथिल्लो तहमा भएको छलफलको आधारमा उद्धार केही दिन पर सरेको हो।” बिहीबारसम्म नाका खुलाउने तयारी छ। जिल्ला प्रशासनले बिहीबारसम्म पूल खुलाएर नेपाली ल्याउने भन्दै बस व्यवसायीहरुलाई समेत तयारी अवस्थामा बस्न भनेको छ। दिनेश खबरबाट