कोरोनाले पनि नसिकाएको पाठ : डा.साधना प्रतीक्षा

सरकारले समयमा नै सबैलाई घरभित्र राखेर सुझबुझ त देखायो तर गम्भीर प्रश्नहरू छन् — कोरोना–सङ्कटमोचन बन्दाबन्दी (लकडाउन)ले मात्र हुनसक्छ ? लकडाउनलाई निरन्तरता दिएरमात्र सरकारको दायित्व पूरा हुन्छ रु काम र माम दुवै बन्द भएपछि जहाँको त्यहीँ बन्द भएर चुलोसम्म बाल्न नसकेका सर्वसाधारणका लागि अव्यवस्थित सहायता वितरणबाहेक उनीहरूका समस्या समाधानका लागि भावी योजना खै त ? सत्ताको खेलमा रातारात बैठक बस्ने नेताहरू जनजीवन सहज बनाउने छलफलका लागि कतिपटक बैठक बसे ?

एकातिर संक्रमण बढ्दो छ । अतः त्यसको उपचार तथा नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्नेछ । हाम्रो स्वास्थ्य क्षेत्रले यो महामारी व्यापक भएमा थेग्न सक्छ कि सक्तैन रु सक्दैन भने त्यसलाई कसरी सक्षम बनाउने रु स्वास्थ्यकर्मीको सुरक्षा कसरी गर्ने ? उनीहरूको मनोबल उच्च राख्न के गर्ने ? जस्ता गम्भीर विषयमा सत्ताभित्र तथा बाहिरका नेताहरूबीच साझेदारी खै त रु हामीकहाँ त अहिले टेलिभिजनका पर्दामा राजनीतिक दलका नेताहरू पार्टी फुटाउने र जुटाउनेबारे पो बहस गरिरहेका देखिन्छन् । यसभन्दा ठूलो विडम्बना अरु के होला ?

अहिले सहरमा अलपत्र परेकाहरू गाउँ जान खोज्दैछन् । विदेशमा अलपत्र नेपालीहरू स्वदेश फर्कन खोजिरहेछन् । यो त तत्कालीन समस्यामात्र हो । दीर्घकालीनरूपमा हेर्ने हो भने विज्ञहरू भनिरहेकाछन् – कोरोना महामारीबाट धेरैले ज्यान गुमाउनुका साथै असंख्य मानिसको रोजगारी पनि गुम्नेछ । महामारीपछि पनि भोकमरीका कारण असंख्य मानिसको मृत्यु हुन सक्नेछ । हाम्रो राजनीतिक वृत्तका जिम्मेवार व्यक्तिहरू भने यसबारे मौन छन् । मानौँ यस समस्याले हामीकहाँ प्रवेश नै पाउनेछैन !  त्यसैले त उनीहरू आपसमा ऐक्यबद्ध भएर यस्ता संभावित समस्या विरुद्ध रणनीति तय गर्न लाग्नुको साटो सत्ता हत्याउने रणनीतिमा केन्द्रित भइरहेका छन् !

हाम्रा सामुनने गम्भीर चुनौतीका रूपमा उभिएको यो महामारी कहिले नियन्त्रण हुने हो कुनै टुङ्गो छैन । विज्ञहरूकै आकलनअनुसार पनि विकसित मुलुकहरूको अर्थतन्त्रमा ठूलो गिरावट आउनेछ । त्यसैका कारण वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले देशको अर्थतन्त्र धान्ने अवस्था नरहला ।

देशकै युवा शक्ति पनि अब विदेश जान नचाहलान् । सहरबाट गाउँ गएका अनि विदेशबाट फर्किएकाहरूका लागि काम र मामको अतिरिक्त आवश्यकता पर्नेछ । उनीहरूका लागि उपयुक्त अवसर तथा सहज जीवनयापनको वातावरण कसरी बनाउने ? आयातमुखी हाम्रो व्यापार अबका दिनमा सहज हुनेछैन । किनभने, छिमेकी मुलुकहरूले आफ्नै आवश्यकता पूरा नगरी निर्यात गर्नेछैनन् । खाद्यान्न आयातमा कमी आउनासाथ भोकमरीको समस्या आउन सक्छ । किनभने, अहिलेसम्म हाम्रा कुनै पनि सरकारले कृषिकेन्द्री नीति ल्याएर कार्यान्वयन गर्न सकेनन् । कमिसनको खेलमा उब्जाउ जमिन प्लटिङ् गर्न र आवास विस्तार गर्नमैँ सबैको आकर्षण देखियो । गाउँको जमिन बाँझो राखेर युवाशक्ति विदेश धपाउने नीतिका कारण गाउँगाउँमासमेत खाद्यान्न आयात गर्नुपर्ने अवस्था बन्न थाल्यो । सहरका त कुरै छाडौँ !  उद्योगधन्दा नाममात्रका बाँकी रहेका हुनाले हामी आफ्ना ससाना आवश्यकताका लागि पनि विदेशी उत्पादमा निर्भर रहन थाल्यौँ । कुनै पनि सरकारले हामीलाई आत्मनिर्भर बनाउने नीति लिएन । त्यसैले भविष्यमा हामी निकै कठिन परिस्थितिबाट गुज्रनुपर्नेमा पनि दुईमत छैन ।

विगतका विपदहरूबाट त हाम्रो राजनीतिक नीतिनिर्माण तहले कुनै पाठ सिकेन नै अहिलेको कोरोना महामारीले पनि यिनलाई पाठ सिकाउन सकिरहेको छैन । त्यसैले त यस्तो सङ्कटमा पनि हामीकहाँ सत्ताको दाउपेच र कमिसनकै खेल चलिरहेको छ, भ्रष्टाचार रोकिएको छैन । भ्रष्टाचारको कमाइले महामारीलाई जित्न सक्तैन तर सदाचारले समाज र राष्ट्रको कल्याण गर्न सक्छ भन्ने चेतना यिनमा अभैm आउन सकेको देखिँदैन । ‘एकातिरको आँधी, अर्कातिर झोलुङ्गे’ भन्ने उक्तिजस्तै छ अहिलेको हाम्रो राजनीतिक बहस !

गाउँका बाँझा गरा हराभरा पारेर स्थानीयको आवश्यकता पूरा गर्ने योजना छैनन् । विदेशबाट फर्केको जनशक्तिको परिचालन गरेर कृषि तथा औद्योगिक विकासका माध्यमबाट संभावित अभावबाट जोगिने उपायबारे छलफल हुँदैनन् । बारीको तरकारी बारीमा नै कुहिएर किसान रोइरहेका छन् भने कतिपयले दूध र अन्डा सडकमा फालेर विरोध गरिरहेका पनि छन् । उपभोक्ता भने त्यही वस्तुको सहज आपूर्ति नहुनाले पिरोलिइरहेका देखिन्छन् । दैनिक उपभोग्य वस्तु उत्पादकबाट सरकारी पहलमा उपभोक्तासम्म पु¥यायाउन योजना आउँदैन ।

लकडाउनमा बन्द भएका उद्योगधन्दा तथा शैक्षिक क्षेत्र कसरी सञ्चालन गर्ने, अनलाइन पठनपाठनको अवधारणालाई मूर्त रूप दिन इन्टरनेटको पहुँच कसरी बढाउने भनी नेताहरूले विचार विमर्श गरेको पनि सुनिएको छैन । सुनिएको छ त सत्ताको गणितीय बहसमात्र !

कोरोनाले अन्य मुलुकलाई धेरै पाठ सिकायो होला । हामीले पनि हात धुन, घरभित्रै बस्न र अन्य धेरै पाठ सिक्यौँ । तर, हाम्रा नेताहरूले अहिलेसम्म पनि कुनै पाठ सिकेका रहेनछन् कुर्सीको लिगलिगे दौडबाहेक । कोरोनाको यत्रो महामारीले पनि हाम्रा नेताहरूको दम्भ अनि विकृत मानसिकतामा परिवर्तन गरी संवेदनशीलता र जिम्मेवारीबोध गराउन सकेन । त्यसैले त गरिब मजदुरहरू कोसौँको दूरी पैदल यात्रा गर्न विवश हुँदा यिनका आँखा रसाएनन् ! सर्वसाधारण भिखारीझैँ सडकमा आएर सहायताका लागि झोली फैलाउँदा राजनीतिमा नलागेकाहरूको मन पग्लियो तर नेताहरूको उपस्थिति देखिएन । किनभने हाम्रो राजनीति सदा व्यापारकै रूपमा देखिएको छ । पशुपतिनाथको कृपाले हामीकहाँ युरोप अमेरिकामा जस्तो भयावह मृत्यु भएको छैन !  त्यस्तै परिस्थिति आउने हो भने घाट पनि हाम्रा नेताहरूका लागि कमिसन खाने माध्यम बन्ने हो कि भन्ने डर छ ।