सुर्खेत चलचित्र पत्रकार संघको अध्यक्षमा पाण्डे निर्विरोध

सुर्खेत – कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र पत्रकार संघ नेपालको सुर्खेत शाखा गठन गरिएको छ । संघको केन्द्रीय समितिले चैत्र १ गते सुर्खेतमा तदर्थ समिति गठन गर्दै औपचारिक रूपमा शाखा विस्तार गरेको हो ।

गठन गरिएको तदर्थ समितिको अध्यक्षमा रमेश कुमार पाण्डे निर्विरोध चयन भएका छन् । समितिको उपाध्यक्षमा अक्वर खान, सचिवमा मानबहादुर वली, सहसचिवमा रमा केसी र कोषाध्यक्षमा नविन सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा खिम बुढा, जगत सापकोटा, सन्तोष भण्डारी र नवराज रोकाया रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमाण–पत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा चलचित्र संघका केन्द्रीय अध्यक्ष समीर बलामीले कर्णाली प्रदेशमा चलचित्र पत्रकारिताको औपचारिक सुरुवात हुनु सकारात्मक उपलब्धि भएको बताए । कर्णालीमा पनि चलचित्रसम्बन्धी समाचार, समीक्षा, अनुसन्धान तथा चलचित्र उद्योगसँग सम्बन्धित गतिविधि सक्रिय रूपमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले कर्णाली प्रदेश प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले यहाँ चलचित्र पत्रकारिता र चलचित्र निर्माण दुवैको राम्रो सम्भावना रहेको बताए । सुर्खेत शाखालाई सक्रिय भएर चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, प्रशिक्षण र संवाद कार्यक्रम सञ्चालन गर्न उनले आग्रह गरे ।

चलचित्र निर्देशक लक्ष्मण सुवेदीले कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता चलचित्र छायांकनका लागि उपयुक्त रहेको बताए । उनले आगामी दिनमा निर्माण हुने चलचित्रहरू सुर्खेतका विभिन्न पालिकासहित कर्णालीका अन्य जिल्लामा पनि छायांकन गर्ने योजना रहेको जानकारी दिए । साथै चलचित्र पत्रकार र चलचित्रकर्मीबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिए ।

चलचित्र पत्रकार संघ नेपालले देशका विभिन्न प्रदेश र जिल्लामा शाखा विस्तार गर्दै चलचित्र पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन पहल गर्दै आएको छ । सुर्खेतमा शाखा गठन भएपछि कर्णाली प्रदेशमा पनि चलचित्र पत्रकारिता, चलचित्र समीक्षा, स्थानीय प्रतिभा प्रवद्र्धन तथा चलचित्रसम्बन्धी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।