
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिनमार्फत सचेत गराएको छ।
महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।
महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी,लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी र बागमती प्रदेशको नवलपुर र चितवन, मधेस प्रदेशको बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशको झापा र मोरङमा सतर्कता अपनाउन भनिएको छ।
हावाहुरी बुधबार अपराह्न ४स्०० बजेदेखि सुरु भई बिहीबार बिहान ६ स्४५ बजेसम्म कायम रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने यो प्रणाली हाल देशको पश्चिमबाट पूर्वतिर सर्दै गइरहेको छ। यसको प्रभाव देशभरका धेरै ठाउँहरूमा पर्ने देखिएको छ।