
सुर्खेत – कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले दुर्गम जिल्लामा सञ्चालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट ४३९ जना नागरिक लाभान्वित भएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिकोट र जुम्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको तीन दिने शिविरमा हाडजोर्नी तथा नसारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको हो । प्रदेश प्रहरी अस्पतालका अनुसार जेठ १० गते कालिकोटमा आयोजित शिविरबाट ११५ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
त्यस्तै जेठ ११ गते जुम्ला सदरमुकाममा सञ्चालन गरिएको शिविरमा थप ११५ जनाले उपचार सेवा प्राप्त गरेका छन् । जेठ १२ गते जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डवगुफा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा सबैभन्दा बढी २०९ जनाले सेवा लिएका थिए ।

दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच अभाव भइरहेका बेला सञ्चालन गरिएको शिविरले स्थानीय बासिन्दालाई राहत पुगेको सहभागीहरूले बताएका छन् । शिविरमा हाडजोर्नी दुखाइ, नसासम्बन्धी समस्या, पुराना चोटपटक तथा जोर्नीसम्बन्धी विभिन्न रोगको परीक्षण र उपचार गरिएको थियो ।
प्रदेश प्रहरी अस्पताल प्रमुख प्रहरी नायव उपरीक्षक (प्रनाउ) डाक्टर श्यामकृष्ण लौडारी नेतृत्वको सात सदस्यीय स्वास्थ्यकर्मी टोलीले शिविरमा सेवा दिएको थियो । शिविरका क्रममा ११ जनालाई हाडजोर्नीसम्बन्धी माइनर प्रोसिजर समेत गरिएको प्रहरी स्वास्थ्यकर्मी टोलीका सदस्य बिर्ख भण्डारीले जानकारी दिए ।
उनका अनुसार सामान्य औषधि वितरण, स्वास्थ्य परामर्श तथा आवश्यक बिरामीलाई थप उपचारका लागि रेफर समेत गरिएको थियो । शिविरमा ज्येष्ठ नागरिक, महिला तथा ग्रामीण भेगका नागरिकको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।
पाण्डवगुफा स्वास्थ्य चौकीमा आयोजित शिविर दामोदर आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागितामा सम्पन्न शिविरप्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
कर्णाली प्रदेश प्रहरी अस्पतालले आगामी दिनमा पनि दुर्गम तथा स्वास्थ्य सेवा पहुँच कम भएका क्षेत्रमा यस्ता विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने जनाएको छ ।