बाँकेकाे खजुरामा लक्षित वर्गलाई रोजगारी

बाँके– मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास अन्तर्गतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यवस्थापन गर्न शुरु गरिएको हो । प्रत्यक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ ।

कार्यक्रमको  उद्घाटन गर्दै प्रदेश सांसद आइपी खरेलले मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए । उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताउँदै खजुराले त्यसै गरेको पाइएको बताए । सांसद बाबुराम गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु¥याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे ।
खजुरा गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३० जना सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलाहरुलाई लक्षित गरेर रोजगारको अवसर दिने उद्देश्यले सपिङ झोला उत्पादन् गर्ने कार्यक्रम सञ्चालनमा ल्याईएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताए।
उनले प्लाष्टिक झोला मुक्त गाउँपालिका घोषणा गर्ने उद्देश्यले झोला उत्पादन गर्न लागिएको बताए । यो कार्यक्रम सफल भएपछि अर्को चरणमा प्रत्येक बर्ष ५०/५० जना महिलाले रोजगार पाउने गरि कार्यक्रम लागु गर्दै जाने अध्यक्ष कक्षपतिकाे भनाइ छ। अध्यक्ष कक्षपतिले खजुरामा उत्पादन भएका सपिङ झोला नेपालगन्जको भाटभटेनीसँग बिक्रीका लागि सम्झौता भएको बताए ।
यसरी प्रत्यक्ष रोजगारीमा जोडिन पाउँदा लक्षित वर्गले खुशी व्यक्त गरेका छन् । श्रीमान नभएकाले बालबच्चालाई पढाउनकै लागि खजुरा गाउँपालिकाले आयोजना गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत झोला बनाउने कार्यक्रममा लागेको खजुरा २ की कृष्णा बिसी बताउछिन् ।

उनले आफूसँग सिलाई सम्बन्धि ज्ञान भए पनि सिलाई मेसिन किन्ने क्षमता पनि नभएकाले अन्य ज्याला मजदुरीको काम गर्ने गरेको भन्दै झोला सिलाईबाट आएको आम्दानीले बालबच्चाको पढाईमा लगाउने बताईन् ।
आर्थिक स्थिति कमजोर भएकाले झोला सिलाईको काममा लागेको खजुरा २ की साबित्रा मगर बताउँछिन् । उनले झोला सिलाईबाट आएको रकमले बालबच्चाको पढाईमा मद्दत पुग्ने बिश्वास ब्यक्त गरिन । खजुरा गाउँपालिकाले ८ वटै वडामा प्लाष्टिक झोला मुक्त गर्ने र प्लाष्टिक झोलाको बिकल्पका रुपमा कपडाको सपिङ झोला उत्पादन गर्ने अभियानमा अघि सरेको छ ।
खजुरा क्षेत्रलाई समृद्ध बनाउने देखि स्वच्छ खजुरा बनाउन सपिङ झोला उत्पादन कार्यले निकै राम्रो भूमिका खेल्ने खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउँछन् ।