भारतले अमेरिकालाई पछि पार्‍यो कोरोनाबाट मृत्यु हुनेमा

कोरोनाभाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार ५ सय २९ जना संक्रमितले ज्यान गुमाएका छन्। दैनिक मृत्युको यो संख्या भारतमा मात्र नभएर संसारभरिकै धेरै हो।

यसअघि अमेरिकामा एकैदिनमा ४ हजार ४ सय ७५ जना संक्रमितको मृत्यु भएको थियो। कोरोनाबाट अति प्रभावित अर्को मुलुक ब्राजिलमा पनि अहिलेसम्म एकैदिनमा ४ हजार २ सय ४९ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छैन।

पछिल्लो समय भारतमा दैनिक संक्रमितको संख्या भने घटिरहेको छ। केही दिनअघि एकैदिन ४ लाख १४ हजारसम्म कोरोना संक्रमित थपिएका थिए। मंगलबार भारतभर २ लाख ६७ हजार जनालाई कोरोना संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म २ करोड ५४ लाख ९६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने २ लाख ८३ हजारको मृत्यु भएको छ। अहिले भारतमा ३२ लाख २६ हजार सक्रिय संक्रमित छन्।