कोरोना संक्रमणबाट रुपन्देहीमा ७ जनाको मृत्यु

 कोरोना भाइरस संक्रमणबाट १ पत्रकारसहित ७ जनाको मृत्यु भएको छ ।

मंगलवार रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ र भैरहवास्थित भीम अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको बुधवार बिहान मृत्यु भएको हो ।

चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आवद्ध थिए ।

अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको बुधवार मृत्यु भएको हो ।

ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

#lokaantar