जुम्लामा एकै दिनमा २४ जनाले कोराना जीते, आइसोलेसन बेड खाली हुदैँ

५० करोड बजेट विनियोजन

 

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेड रित्तिन थालेका छन् । एक शिशु सहित २४ जना एकैपटक कोराना जितेर घर फर्किएपछि आइसोलेसन रित्तिदैँ गएको हो । आइसोलेसनमै १४ दिन पछि पुनं स्वाब परिक्षण गरेपछि रिर्पोट नेगेटिभ आउँदा २४ जनालाई घर फकाईएको हो ।
सिंजा गाउँपालिका – ६ काडाँगाउँकी ३९ बर्षिया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । आमा र बच्चाको कोराना रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका छन् ।
प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुन परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमा सहित २४ जनालाई घर पठाएको अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए । प्रतिष्ठानका अनुसार आइसोलेसनमा १२ जना रहेका छन् । उनीहरुलाई पनि कुनै लक्षण देखिएको छैन् । कोराना जितेका सबैलाई अस्पताल भित्र एक कार्यक्रम गरेर विदाई गरिएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले योगदानको कदर गर्दै सुरक्षित हुन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी थापाले घर फर्किसकेपछि उच्च सावधानी अपनाउनको लागि सचेत गराए ।
उनले भने,‘कोराना जितेर घर फर्केकोमा हार्दिक बधाईछ, तर घरमा पनि होमक्वारेन्टिनमा बस्नुहोला । स्वास्थ्यको ख्याल गर्नु होला । सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै कोराना संक्रमण हुन नदिनको लागि सचेतना फैलाउनु होला । यही कामना गर्दछौँ । ’
कोरोना जितेर  घर फर्किएकाहरु पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न चिकित्सकले सुझाएका छन् । यस पटक कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका छन् । यसअघि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए ।
कोराना संक्रमण फैलन सक्ने अवस्थालाई मध्येनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय २० बेडको आइसोलेसन बेड तयार पारेको थियो । जिल्लाभर ८ सय बेडको क्वारेन्टिन निर्माण भएका थिए । अहिले क्वारेन्टिन पनि रित्तिन थालेका छन् । यहाँका हरेक स्थानीय तहमा १० बेडको आइसोलेन बेड निर्माणका लागि निर्देशन भएको थियो ।स्थानीय तह पनि तयारी अवस्थामा थिए । तर संक्रमितको संख्या कम हुदाँ अहिले प्रयोगमा आउन सकेका छैनन् ।
आइसोलेसनमा चिकित्सकको नियमित रेखदेख पायौँ,विभिन्न परामर्श कक्ष लियौँ,कोराना जितेर घर फर्किनेहरु भन्छन्,‘आइसोलेसन भित्र न्यानो पायौँ । कोराना बिरुद्ध लड्ने साहस बटुल्यौँ । साँचिक्कै जीतेर घर फर्कियौँ । ’