जुम्ला प्रशासनमा डिजिटल बडापत्र

जुम्ला- जिल्ला प्रशासन कार्यालय जुम्लामा डिजिटल बडापत्र राखिएको छ । यसअघि खस भाषामा अडियो बडापत्र राखिएको जुम्ला प्रशासनमा पहिलो पटक डिजिटल बडापत्र राखिएको हो । डिजिटल बडापत्रमा खसभाषाको अडियो बडापत्र पनि कायमै छ । स्पष्ट बुझिने भाषा शैलीमा बडापत्र तयार भएकोले सेवाग्राहीलाई सेवा लिन सहज भइरहेको छ । गुठिचौरका धनप्रसाद न्यौपाने यो बडापत्रले प्रशासनिक कार्य सम्पादनमा सहजता ल्याउने बताउँछन् । उनी दृष्टिविहन हुन् । तर आखाँले देख्न नसकेपनि कानले खसभाषामै बडापत्र पढेको सुन्दा खुसि लागेको प्रतिक्रिया दिए ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले पछिल्लो समयमा सेवालाई प्रविधि संग जोड्न पहल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले रिवन काटेर डिजिटल बडापत्र सञ्चालनमा आएको घोषणा गरेका थिए ।
डिजिटल बडापत्रले सार्वजनिक सेवा प्रवाहमा सूचनाको पहुँचमा सहजता ल्याउने बताए । उनले भने,‘ डिजिटल बोर्ड खसभाषाको अडियोमा सुनिने र कम्प्यूटरमा देखिने भएकाले सवै प्रकारका नागरिकहरुलाई सूचनाको पहुँच पुग्नेछ । ’ बडापत्र सञ्चालन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले यहाँको आवश्यकता र पहिचानका आधारमा सेवाप्रवाहमा जोड दिनु पर्ने बताए । उनले भने,‘कुनै पनि सरोकारवालाले सहजै रुपमा सेवाग्राहीको पिरमर्का बुझ्ने वातावरण सिर्जना गर्नुजरुरी छ । यो बडापत्र एक उदाहरण हो । ’
जिल्लाका सवै सरकारी कार्यालयहरुले सामान्य निवेदनको खाका देखी हेल्प डेक्स सम्मको व्यवस्था गर्नुपर्ने, मुस्कान सहितको सेवा देखी सूचनामैत्री कार्यालयमा जोड दिनु पर्ने बताए । कुनै पनि काम गर्न इच्छाशक्तिको आवश्यकता पर्दछ । उनले भने,‘सेवाग्राहीलाई सहज बनाउने केही सिर्जनात्मक कार्य गरौँ । यो नै सबैको हितमा हुनेछ ।’ उनले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनका लागि सबैको साथ चाहिने बताए ।
कर्णाली प्रदेश सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा डिजिटल बडापत्र बन्यो ।सामाजिक विकास कार्यालयका प्रमुख वलविर सुनारले भने,‘ यो बडापत्रको बहुउपयोगी रुपमा सदुपयोग हुनेछ ।’ सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय जुूम्लाको सहयोगमा नागरिक बडापत्र बनेको हो ।
नागरिक बडापत्र संगै सामाजिक विकास कार्यालयको सहयोग र रेडियो कणाली जुम्लाको समन्वयमा सुरक्षित आप्रवासन कक्ष समेत उद्धाटन गरिएको थियो ।

यस अघि जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष, सहायता कक्ष समेत शुरुवात गरि सकिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयको वेवसाईट र सामाजिक संजाललाई थप सक्रिय बनाइएको छ ।