संक्रमित संख्या घटेपनि कोरोना महामारीको नयाँ लहर आउनसक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनमले विश्वका सबै देशहरूलाई कोरोना महामारीविरुद्ध चालेका प्रयास जारी राख्न आग्रह गरेका छन्।

महामारीको थप जोखिम निम्तिनसक्ने तथा तेस्रो र चौथो चरण शुरु हुन थालेकाले सजगता कायमै राख्न उनले आग्रह गरेका हुन्।

कोरोना महामारी नियन्त्रण गर्न लगाइएका प्रतिबन्धका कारण मानिसहरुले हैरानी व्यहोरिरहेको, तर मृत्युदर कम हुँदैमा महामारी अन्त्य भएको नठान्न डब्ल्यूएओका प्रमुखले सुझाएका हुन्।

अदोनमले ब्राजिलको अवस्थाप्रति बढी चिन्ता प्रकट गरेका छन्। त्यहाँका राष्ट्रपति जायर बोलसोनारोले महामारीसँग जोडिएका प्रतिबन्ध अबका दिनमा अनावश्यक भएको अभिव्यक्ति दिएका थिए।