प्रधानमन्त्री ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्‍या सिंह शाहले पनि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई पनि कोरोना विरुद्धको खोप लगाउन लागिएको छ तर भोलि लगाउनुहुन्छ कि पर्सि भन्नेमा निर्णय भइसकेको छैन।’ भोलिबाट कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु हुँदैछ।

जसमा सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। सोही अन्तर्गत प्रधानमन्त्री ओलीले खोप लगाउने भएका हुन्। सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ।