सरकारले कोभिड–१९ विरुद्धको खोप अशक्त र ज्येष्ठ नागरिकलाइ घरमै पुगेर लगाउने

सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ।

सरकारले ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ।

५५ वर्षभन्दा माथिका अनुमानित संख्या ५१ लाख ६४ हजार २६९ का लागि फागुन २३ देखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान सुरु हुनेछ। यो कुल जनसंख्याको १७ प्रतिशत हो।

यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ देखि ५ सम्म खोप लगाउने सरकारको तयारी छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संंघ सरकारका तर्फबाट व्यवस्थापन र समन्वय गर्नेछ भने स्थानीय तहले आफ्ना स्वास्थ्य कार्यालय र जनशक्तिलाई परिचालन गर्नेछन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउँदै विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेको स्थितिमा नेपालमा पहिलो प्राथमिकता प्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकता प्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको जनाए।

नयाँ चरणमा मुलुकभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्था र १६ हजार क्लिनिकलाई परिचालन गरिने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। उनले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाई घरमै पुगेर लगाउने तयारी भएको बताए।

पहिलो र दोस्रो प्राथमिकता प्राप्त समूह गरी कुल जनसंख्या २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको थियो।

सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत ९नौ लाख ११ हजार ३४२० लार्ई ध्यानमा राखी गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो।

स्वास्थ्यकर्मी आदिलाई लक्ष्य गरी सञ्चालित पहिलो प्राथमिकता प्राप्त समूहका लागि आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो चरणमा खोप लगाइनेछ।

यो चरणमा उमेरका कारणले पनि योग्य भएकाले प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थले पनि खोप लगाएर यो खोप सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिलाउने सरकारको तयारी छ।

पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा पाँच लाख सात हजार ६०६ लाई लक्ष्य गरिएकामा चार लाख २९ हजार ७०५ अर्थात ८४ दशमलव ६५ प्रतिशले खोप लगाएका छन्।

यही फागुन १० गतेसम्मको विवरणमा यो कुल जनसंख्याको एक दशमलव चार प्रतिशत हो। खोप लगाउने नागरिकको यो संख्या उत्साहप्रद रहेको मन्त्रालयको विश्लेषण छ।