कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर

काठमाडौं—मस्तिष्कघात भएर नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

जोशीको उपचारमा संलग्न चिकित्सक टिमका न्यूरो सर्जन डा. राजीव झाले संवाददाताहरुसँग शल्यक्रियापछि भेन्टिलेटरमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्। डा. झाकाअनुसार हिजो अचानक बायाँ खुट्टा र बायाँ हातमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लागिएको थियो।

त्यहाँबाट उनलाई रिफर गरी नर्भिक अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएको हो। ‘यो केसमा ६० प्रतिशत बिरामीको अन द स्पोट मृत्यु हुन्छ। हामी उनको उपचार गरिरहेका छौँ। उहाँलाई बचाउने हाम्रो सक्दो प्रयास छ,’ डा. झाले भने ।

उनले अघि थपे, ‘उहाँको मस्तिष्कको सिटीस्क्यान गर्दा राइट साइडेड आइसीएच विथ भेन्टीकुलरएक्सटेन्सन भएको देखिएपछि तत्काल आइसीयुमा राखेर उपचार सुरु गर्यौं। र मस्तिष्कमा रगत जमेको कारण आकस्मिक शल्यक्रिया गरेका छौँ। अहिलेसम्म अवस्था स्थिर नै छ।’ डा. झाले जोशी सुगर, प्रेसर रोगबाट ग्रसित रहेको र रगत पातलो पार्ने औषधी सेवन गर्दै आएको बताए।