कर्णाली करिडोरको काम धमाधम टाढा रहेन सिमकोट

कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ ।

राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ ।
कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको हो ।

आगामी असारसम्ममा हुम्लाको सलीसल्लासम्म सवारी साधन सञ्चालन हुने गरी काम भइरहेको छ । यहाँबाट हुम्लाको सदरमुकाम सिमकोट पुग्न अब ५० किलोमिटर छ ।

सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १२६ किलोमिटर कर्णाली राजमार्ग नै पर्ने भएकाले पक्की सडक छ । खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक करिब डेढ सय किलोमिटर हुनेछ ।

सुरुमा कालीकोटको खुलालुदेखि हिल्सासम्मलाई कर्णाली करिडोर मानिए पनि अहिले यसलाई सुर्खेतको बाँगेसिमलदेखि हिल्सासम्मको ४१० किलोमिटर मानिएको छ । यो करिडोरलाई भारतसँग पनिजोड्नुपर्छ भन्ने अवधारणा आएपछि बाँकेको जुमनाहदेखि हिल्सासम्म जोड्नुपर्ने योजना बनाइएको छ ।

दुई दशकअघि २०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोर २०६६ सालसम्म सडक विभागले निर्माण गरिरहेको थियो । करिडोरमा ठूलाठूला चट्टान र अप्ठेरो पहाड पर्ने भएपछि सडक निर्माणका लागि २०७१ चैतमा नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।

यस आयोजना आर्थिक वर्ष २०६५र६६ देखि सुरु भई आव २०७०र७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको अपेक्षा गरिएकोमा संशोधन भई आव २०७९र८० मा सम्पन्न हुने गरी म्याद थप गरिएको छ ।

सवारी साधन सञ्चालन
कालीकोटको ३८।५ किलोमिटर र बाजुराको ४४ किलोमिटर गरी कर्णाली करिडोरको ८३ किलोमिटर सडकमा सवारी साधन चल्न थालिसकेका छन् ।

कालीकोट खण्ड नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि पचालझरना गाउँपालिकाको लैफुसम्मको ४० किलोमिटर क्षेत्रमा पर्ने खुलालु खोलामा १३० फिटको बेलिब्रिज निर्माण र खुलालुकै करिब दुई किलोमिटर क्षेत्रको चट्टान फुटाउने काम भइरहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।
यी काम सम्पन्न गरी आगामी असारमा सडक डिभिजनलाई हस्तान्तरण गर्ने योजना रहेको नेपाली सेना निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिनुभयो ।

प्रमुख सेनानी कार्कीले २० करोड ३८ लाख रुपियाँ माग गरिएकोमा रकम निकासासमेत भइसकेको जानकारी दिनुभयो ।

असारभित्रै हस्तान्तरण
बाजुरा जिल्लामा पर्ने ४४ किलोमिटर सडक खण्डमा सवारी साधन सञ्चालन हुन थालिसकेका छन् ।

हुम्ला जिल्लामा पर्ने १८४ किलोमिटरमध्ये कवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएर हाल सवारी साधन सञ्चालन भइरहेका छन् ।

आगामी असारसम्ममा सलीसल्लासम्म सवारी साधन सञ्चालन गर्ने लक्ष्य छ । योसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट चाँडै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।

नेपाली सेनाले जिम्मेवारी लिएको कालीकोट, बाजुरा र हुम्ला खण्डमध्ये हुम्ला जिल्लाको काम अन्तिम चरण पु¥याइएको खुलालु–लैफु–कवाडी–सलीसल्ला सडक निर्माण दलका योजना प्रमुख इन्जिनियर मिलन कार्कीले बताउनुभयो ।

हुम्ला खण्डमा पर्ने ३९ किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक निर्माण सम्पन्न हुन बाँकी छ । कवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएर हाल सवारी साधन सञ्चालन भइरहेका छन् ।
बालुकुनादेखि सलीसल्लासम्मको बाँकी १२ किलोमिटर सडकमध्ये १० किलोमिटरमा ट्र्याक खोल्ने कार्य पूरा भएर कटिङ, ग्याबिन लगाउने, पर्खाल लगाउने, माटो सम्याउने र नाला निर्माण गर्ने कार्य भइरहेको कार्कीले बताउनुभयो ।

यस खण्डमा पनि सेनाका गाडी चल्दै आएका छन् । सेनाले जिम्मा पाएको सडकको निर्माण कार्य आउँदो चैत महिनासम्म पूरा गरेर सवारी साधन सञ्चालन गर्ने र असारसम्म हस्तान्तरण गर्ने योजनामा छ ।

करिडोरमा नेपाली सेनाका दुई सयसहित पाँच सय जनाले काम गर्दै आएका छन् । नेपाली सेनाले यो सडक निर्माणको जिम्मेवारी पाएपछि तीव्र गतिमा काम भइरहेको र चाँडै हुम्ला सडक सञ्जालसँग जोडिने हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताउनुभयो ।

सलीसल्लादेखि सिमकोट हुँदै हिल्सासम्मको कुल १४५ किलोमिटर सडकमा २०६९ सालबाट हिल्सा–सिमकोट सडक आयोजनाले काम गर्दै आएको छ ।
त्यसमा हिल्सा–सिमकोट सडक आयोजनाले काम गरिरहेको खण्डमा पर्ने हक्पा खोलादेखि च्याछरासम्मको चट्टानी भागमा दुई सय मिटरमा ट्र्याक खोल्न बाँकी रहेको आयोजनाका निमित्त योजना प्रमुख सन्तोष यादवले बताउनुभयो ।

उक्त खण्डमा पुल निर्माण तथा सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ भने सिमकोट सलीसल्ला खण्डको ५० किलोमिटर खण्डमा १६ किलोमिटरबाहेक अन्यत्र सडक निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यसका लागि हालसम्म ९५ करोड रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । यसमा दोजाम कर्णालीमा पुल निर्माणको कार्य बाँकी छ भने छारे खण्डको १६ किलोमिटर चट्टानी भाग असजिलो खण्ड हो ।
सडक आयोजनाले गर्न नसक्ने अवस्थामा छ ।

गाउँगाउँ सडक सञ्जालमा
कर्णाली करिडोर निर्माण हुँदै जाँदा मुख्य राजमार्गदेखि गाउँगाउँसम्म सडक विस्तार हुन थालेका छन् । स्थानीय तहले आफ्नो केन्द्र र वडा–वडासम्म सडक खन्न निकै ठूलो लगानी गर्न थालेका छन् ।
नेपाली सेनाले चट्टान फुटाएर १६ किलोमिटर सडक निर्माण गरेपछि यातायात सञ्चालन हुन थालेको र नगरपालिकाले शाखा सडक विस्तार गरी गाउँगाउँसम्म बाटो खन्न थालेको रास्कोट नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख दयाराम सिम्खडाले बताउनुभयो ।

यो करिडोरमा यातायातका साधन सञ्चालन भएपछि कालीकोटका रास्कोट नगरपालिकाका साथै नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका जनतालाई आउजाउ गर्न सहज
भएको छ ।

सहज बन्दै जीवनयापन
कर्णाली करिडोर निर्माणाधीन भए पनि केही खण्डमा सवारी साधन सञ्चालन हुन थालेपछि स्थानीयवासीलाई सहज हुुनुका साथै आर्थिक गतिविधि पनि बढेका छन् ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले सडक सञ्जाल जोडिएपछि स्थानीयवासीको जीवनयापन सहज बन्दै गएको बताउनुभयो ।
ताँजकोटा गाउँपालिका सडकसँग नजोडिँदा बाजुराको कोल्टी र सदरमुकाम सिमकोटबाट हवाई मार्गबाट सुर्खेत वा नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको चर्चा गर्दै अध्यक्ष मल्लले भन्नुभयो, “अहिले गाउँबाट एकै दिनमा सुर्खेत पुग्न सकिन्छ । बाहिरबाट आउने खाद्यान्नलगायत लत्ताकपडा पनि सस्तो हुने थालेको छ ।


नाम्खा गाउँपालिका–३ का पासाङ लामाले कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकसँग गाउँ जोडिएपछि धेरै फाइदा भएको बताउनुभयो । अब चाँडै सडकको स्तरोन्नति गर्न सके जनतालाई झनै सुविधा हुने उहाँको भनाइ छ ।

रास्कोट नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख दयाराम सिम्खडाले करिडोर निर्माणले विकास सहज भएको भन्दै सडक आसपासका जनताले तरकारी खेतीलगायतका व्यवसाय गरेर आयआर्जन गरिरहेका जानकारी दिनुभयो ।

द्रुत मार्गको माग
कर्णाली प्रदेश सरकारले कर्णाली करिडोरलाई विकास मार्गका रूपमा लिएको छ । त्यसैले प्रदेश सरकारले यस सडकलाई सुर्खेत–हिल्सा द्रुत मार्गका रूपमा प्रस्ताव गरेको छ । यस मार्गलाई छिटो बनाउन प्रदेश सरकारले चीनको चाइना रेलवे इन्जिनियरिङ रेलवे गु्रपलाई अध्ययन गर्न
दिएको थियो ।
त्यस अध्ययनमा सुर्खेतदेखि हिल्सासम्मको ४१० किलोमिटर सडक पाँच वर्षमा निर्माण गर्न सकिने र लागत ६४ अर्ब रुपियाँ लाग्ने उल्लेख छ । अध्ययनमा १० घण्टामा सुर्खेत–हिल्सा यात्रा गर्न सकिने जनाइएको छ ।

कर्णालीको विकासमार्ग मानिएको कर्णाली करिडोरको कामलाई दु्रतगतिमा अगाडि बढाउन प्रदेश सरकारले माग गरिरहेको छ ।
हुम्ला जिल्लाको सलीसल्लादेखि सिमकोटसम्मको १४५ किलोमिटरलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ ।

२०६४र६५ देखि सुरु भएको यो आयोजनाको प्रारम्भिक लागत अनुमान चार अर्ब १० करोड रहेकोमा २०७६र७७ सम्ममा ९० करोड ६१ लाख रुपियाँ खर्च भइसकेको छ ।
चालू आर्थिक वर्षका लागि ६२ करोड २८ लाख रुपियाँ विनियोजन गरिएकोमा पुससम्ममा चार करोड छ लाख रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनाको भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७७र७८ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

कर्णाली र प्रदेश ५ का हिमाली र पहाडी जिल्लालाई सडक यातायात सञ्जालमा आबद्ध गरी हिल्सा, हुम्लादेखि नेपालगञ्ज, बाँकेसम्म जोड्ने गरी राष्ट्रिय गौरवको आयोजनाका रूपमा यस आयोजना प्रारम्भ भएको हो ।(गोरखापत्र दैनिक)