पाइलटले जोगाए २३१ यात्रु,इन्जिन फेल भएर जहाजका टुक्रा बाटैमा खसे

अमेरिकाको डेनभरमा शनिबार एउटा जहाजको एउटा इन्जिन फेल भयो।

२३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा टेकअफ भएको केहीबेरमै समस्या आएको थियो।

इन्जिनमा समस्या आएपछि पाइलटले सहयोग माग्दै डेनभर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा फोन गरेका थिए।

सामाजिक सञ्जालहरूमा पोष्ट भएका भिडिओमा इन्जिनमा आगो लागेको देखिन्छ। तर पाइलटले नआत्तिकन उक्त जहाजलाई सफल अवतरण गराएका छन्।

डेनभर इन्टरनेशनल एयरपोर्टबाट शनिबार दिउँसो १२.४९ बजे उडेको जहाज १;३० बजे फर्केर आइपुगेको थियो। फर्कँदा एउटा इन्जिनका टुक्राहरू बाटैमा खसेका थिए।

डेनभर विमानस्थलका प्रवक्ता एलेक्स रेन्टरियाले सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताए। जहाजका टुक्रा बाटोमा खसे पनि अहिलेसम्म कोही घाइते भएको खबर नआएको उनले बताए।

ब्रुमफिल्ड प्रहरीले धेरै ठाउँमा जहाजका टुक्रा खसेको उल्लेख गर्दै अनुसन्धानका लागि चाहिने भएकाले तिनलाई नछुन र यताउता नफाल्न भनेको छ।

अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने भएको छ