काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग लगाउने प्रस्ताव अमेरिकी सिनेटमा असफल भएको छ। गएराति भएको मतदानमा दुई तिहाई बहुमत नपुगेपछि ट्रम्पविरुद्धको महाअभियोग असफल भएको हो।
मतदानमा महाअभियोगको पक्षमा ५७ मत पर्यो भने विपक्षमा ४३ मत परेको थियो। सय सिट रहेको सिनेटमा दुई तिहाईका लागि ६७ मत आवश्यक पर्नेमा त्यो जुट्न नसकेपछि ट्रम्प महाअभियोग लाग्नबाट बचेका छन्। शनिबार महाअभियोगमाथिको बहस सकिएपछि मतदान भएको थियो।
योसँगै ट्रम्पलाई अमेरिकी संसदमा भएको हमलाका विषयमा दोषी ठहराउने डेमोक्रेटिक पार्टीको प्रयास असफल भएको छ। अमेरिकी सिनेटमा डेमोक्रेट र रिपब्लिकनको बराबर ५०–५० सिट रहेको छ। सिनेटको अध्यक्ष उपराष्ट्रपति हुने हुनाले डेमोक्रेटको पक्षमा बहुमत भएपनि उनीहरुले ट्रम्पलाई महाअभियोग लगाउन रिपब्लिकन सिनेटरहरुलाई मनाउन भने असफल भएका छन्।
यस अघि २०२० को जनवरीमा समेत ट्रम्पविरुद्ध लगाइएको महाअभियोग सिनेटमा असफल भएको थियो।