‘हामी सेनाको हतियारसँग डराउदैनौं’

काठमाडौं – म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि जनता पूर्ण शक्तिका साथ सडकमा उत्रिएका छन्। सेनाले देशका धेरैजसो शहरहरू र शहरहरूमा कर्फ्यु लगाएको छ। यद्यपी जनताले यसको विरोध गर्दै सडकमा उत्रिएका छन्।

चर्को आन्दोलनमा प्रहरी मूकदर्शक बनेको छ। मंगलबार बिहानदेखि नै मानिसहरू राजधानी लगायत अन्य शहरका सडकमा प्रजातन्त्रको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। आन्दोलनमा आएका एक प्रदर्शनकारीले ‘द गार्डियन’सँग भनेका छन्,’हामीले हाम्रो आँखाको अगाडि प्रजातन्त्र अन्त भएको देख्न सक्दैनौं। प्रजातन्त्र फिर्ता आउनुपर्छ। हामीलाई सेनाले लगाएको कर्फ्युको बारे कुनै मतलब छैन।’

फेब्रुअरी एकमा सेनाले कु गरेपछि देशको कुनै पनि भागमा मानिसहरू भेला हुने वा जुलुस गर्न प्रतिबन्ध लगाएको थियो। ‘द गार्डियन’ को रिपोर्ट अनुसार मंगलबार बिहान मानिसहरू सडकमा उत्रिए र सैन्य सरकारको विरूद्ध नाराबाजी गरेका छन्।

विद्यालय, सरकारी कार्यालयहरू बन्द गरेर कर्मचारीहरू आन्दोलनमा सरिक भएका छन्। ‘सेनाले यी व्यक्तिविरूद्ध बल प्रयोग गर्न सक्दछ।’ आन्दोलनमा आएका ३७ वर्षीय विन मीनले भने, ‘सेनाले हाम्रो आवाजलाई दबाउन चाहन्छ तर यस पटक हामी पछि हट्ने छैनौं। किनभने हतियारसँग हामी डराउदैनौँ।’

मंगलबार प्रदर्शनकारीहरूले हातमा ब्यानरसहित उपस्थित भएका छन्। ‘हाम्रो नेता आङ सान सुचीलाई तुरुन्त रिहा गर्नुपर्छ। लोकतन्त्र भनेको जनताको अधिकार हो।’ प्रदर्शनमा आएका एक स्कूल शिक्षक थेइन विनले भने, ‘सेनाले मान्छेहरू घरभित्र लुकेर बस्छन् भन्ने सोच्छ भने यो उसको भूल हो। सेनाले बुझ्नु पर्छ कि अब मानिसहरू सडकमा उत्रिएका छन् र सेनाले प्रजातान्त्रिक सरकारको पुनर्स्थापना गर्नुपर्दछ।’

आन्दोलनलाई मध्येनजर गर्दै सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको थियो। म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ।