युथ स्पिक आउट २०२१ आयोजना हुने भएको छ । ह्युमन राईटस् फिल्म फोकस नेपाल तथा पालिञ्चा नेपालको सहकार्यमा वाल अफ होप अभियान अन्तर्गत महिला तथा युवतीहरु माथि हुने हिंसाका घटनाहरुको विरुद्धमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।
यस नविन शैक्षिक अभियानले युवा तथा विद्यार्थीहरुलाई महिला र युवतीहरु उपर हुने हिंसाका विषयमा प्रमाणमा आधारित वक्तृत्व(स्पिच) तयार पारि आफ्ना समकालिन साथीसंगीहरुका साथै व्यापक जनमानसमा साझा गर्न प्रोत्साहन गर्नेछ । अभियानमा नेपालमा यहि डिसेम्बर १० तारिक २०२० देखि मार्च ०८ तारिख २०२१ सम्म सञ्चालन हुँदैछ ।
अभियानमा सहभागि हुनका लागि विद्यार्थीहरुले विद्यालय अथवा समुदायमा आधारित रहि महिला तथा युवतीहरु उपर हुने हिंसाका घटनाहरुको विषयमा २ मिनेटको भिडियो बनाउनु पर्नेछ । उक्त भिडियोमा सहभागिले महिला हिंसाका घटनाहरु बारे तयार पारेको वक्तृत्व वाचन गर्नुपर्नेछ ।
बेचबिखन, बाल विवाह, महिलाहरु माथि सडकमा हिँड्दा हुने उत्पीडन, दाईजो, अपशब्द प्रयोग, दम्पत्तीबाट हुने बलात्कार, कार्यस्थलमा हुने उत्पीडन, बोक्सीको नाममा महिलाहरु माथि हुने कुटपिट, महिनावारीमा जबरजस्ती घर बाहिर राख्ने प्रथा, बलात्कार, एसिड आक्रमण, शारिरीत यातना, शैक्षिक अवसरबाट वञ्चितिकरण, हेप्नु, सार्वजनिक सवारीमा हुने यौनजन्य हिंसा, साईबर अपराधलगायतका विषयहरुमा विद्यार्थीहरुले वक्तृत्व तयार गरि सहभागि हुन सक्नेछन् ।
युथ स्पिक आउटमा कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागि हुन सक्नेछन् । वक्तृत्वहरु अंग्रेजीमा लेखेर प्रस्तुत गर्न सकिनेछ । नेपाली अथवा नेपालमा प्रयोग हुने जुनसुकै राष्ट्रिय भाषा पनि प्रयोग गर्न सकिनेछ । कुनै पनि लैगिंग र यौनिक पहिचान भएका विद्यार्थीहरु सहभागि हुन सक्नेछन् ।
यस प्रतिस्पर्धाबाट सवोत्कृष्ट ठहरिएका सर्वोत्कृष्ट वक्ताहरुलाई मार्च ८ तारिख २०२१ का दिन एक विशेष समारोहका दौरानमा पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट वक्तृत्वहरु समावेश गरि तयार पारिएको एक कार्यक्रम राष्ट्रिय टेलिभिजनबाट प्रशासरण समेत गरिनेछ । साथै यसरी देशैभरिबाट संकलन भएका उत्कृष्ट वक्तृत्वहरुलाई हजारौँ दर्शक, श्रोता माझ पुर्याउन सामाजिक सञ्जालका विभिन्न प्लैटफर्ममा अपलोड पनि गरिनेछ ।