फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ : प्रचण्ड

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल चलिरहेको बताएका छन् । बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त आन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’

उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए ।

‘सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ। यसले लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ’, प्रचण्डले भने ।

सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए । ‘हिजो पञ्चहरुले त्यसै गर्थे । ठूलाठूला पञ्चर्याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’, प्रचण्डको टिप्पणी थियो ।

ओलीले संविधान मिच्दै हिजो असंवैधानिक ढंगले संवैधानिक परिषद्मा सपथ गराएको भन्दै यसलाई आफूले जंगली राजा जस्तै भएको ठानेको बताए । उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए ।