कर्णालीमा श्वासप्रश्वासका बिरामी बढ्दै

कर्णालीमा वर्षेनी सर्वसाधारण श्वासप्रश्वासको समस्याले ग्रसित हुने गरेका छन् । अशिक्षा, गरिबी र सरसफाइको अभावले विभिन्न रोगको सिकार बन्ने गरेका यहाँका नागरकिमा सबैभन्दा बढी श्वासप्रश्वासको समस्या देखिने गरेको छ ।

 

कर्णालीका ग्रामीण बस्तीका बासिन्दामा मुख्यगरी श्वासप्रश्वास, झाडापखाला रुघाखोकी, टाइफाइड अमलियपनलगायतका रोगले थलिने गरेका छन् । तथ्यांक हेर्दा कर्णालीमा गतवर्ष २०७६-७७ मा १६ लाख ११ हजार ३४ जना सर्वसाधारण माथिल्लो श्वासप्रश्वासको संक्रमणबाट ग्रसित भएका छन् ।

त्यस्तै, तल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण भई उपचार गराउनेकोे सख्या ९२ हजार २८ रहेको छ । प्रतिशतकाआधारमा हेर्दा सहर बजार भन्दा ग्रामीण बस्ती अझ बढी श्वासप्रश्वास रोगको संक्रमण हुने गरेको प्रदेश स्वाथ्यसेवा निर्देशनालयले जनाएको छ। आर्थिक वर्ष २०७४-७५ मा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण भई उपचार गराउनेको सख्या ११ हजार तीन सय १२ रहेको थियो ।

त्यस्तै, तल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण हुनेको संख्या ७३ हजार ६ सय ७७ रहेको थियो । यो संख्या बढेर २०७५-७६ मा ११ लाख ५६ हजार ४५ जनामा माथिल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण भएको थियो भने ७७ हजार ७ सय १५ जनामा तल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण भएको थियो । २०७७-७८ को अहिले सम्मको तथ्यांक हेर्दा ५४ हजार २ सय ७० जनामा माथिल्लो श्वासप्रश्वासको समस्या भएको देखिन्छ भने २८ हजार तीनसय १८ जनामा तल्लो श्वासप्रश्वासको समस्या देखाएको छ ।

यो संख्या आर्थिक वर्षको अन्त्यसम्ममा बढ्न सक्ने स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्य शिक्षा टेक्निसियन बसन्तमान श्रेष्ठले जनाएका छन् । सडक निर्माण र मर्मतसम्भारमा ध्यान नदिइँदा बढेको धुलो, धुवाँ, धुम्रपान सेवन, प्रदुषण लगाएतले श्वासप्रश्यासमा समस्या देखिने गरेको उनी बताउछन् ।

यसका साथै गरिबी, अशिक्षा, सरसफाइको अभाव, जनचेतनाको अभाव, भौगोलिक दुर्गमता, प्राकृतिक प्रकोप, खानपान तथा जीवनशैली, असुरक्षित पिउने पानीका कारणले गर्दा कर्णालीका धेरै मानिस रोगको सिकार हुने गरेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादर शाहीले जानकारी दिए ।

विशेषगरी यस बाहेक कर्णालीका बच्चाहरूमा निमोनिया हुने गरेको र ठूला व्यक्तिमा रुघाखोकी, दम, टाउँको दुख्ने समस्या देखिने गरेको उनको भनाइ छ । कर्णाली हिमाली र पहाडी भू-भाग भएकाले यहाँ अत्याधिक चिसो हुन्छ । चिसो, वातावरण प्रदूषण हुनुलगायतका कारणले श्वासप्रश्वास हुने गरेको स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्य शिक्षा टेक्निसियन श्रष्ठले जनाए ।

यसका साथै पानी र खानेकुराबाट झाडापखाला, आऊ, ज्वरो टाइफाइड जस्ता रोगले संक्रमण हुन सक्ने बताउँदै उनले पानीलाई राम्रोसँग उमालेर मात्रखानुपर्ने बताए । त्यस्तै, बाँसी सडेगलेका खानेकुरा खान नहुनेमा समेत उनले जोड दिए । बढ्दो प्रदूषण, फोहर र धुवाँधुलोका कारण छालामा नकारात्मक असर देखिने बताउँदै आफ्नो आनीबानी र सरसफाइमा समेत सुधार गर्न स्वास्थ्य सेवा महासाखा प्रमुख शाहीले सुझाव दिए ।

भौगोलिक विकटता, स्वास्थ्यमापहुँच नहुनुले पनि कर्णालीका बासिन्दा रोगले थलिने गरेका छन् । विभिन्न रोगका कारण बर्सेनि कयौंले ज्यान गुमाउँछन् भन्ने तथ्यांक स्वास्थ्य निर्देशनालयमा भने छैन ।

स्वास्थ्य सेवा महासाखा प्रमुख शाहीका अनुसार सामान्यतया यसरी स्वस्थ बन्न सकिने:-

१) धुवाँ, धुलो, प्रदुषण र चिसोबाट बच्ने

२) खाना खानुअघि र पछि साबुनपानीले हातधुने,

३) बासीखानेकुरा र सडकमा बेच्न राखेको खानेकुरा नखाने,

४) पानी उमालेर खानु सबैभन्दा उत्तम हुन्छ । त्यो गाह्रो छ भने पानीमा क्लोरिन झोल हालेर खान सकिन्छ ।

५) खानामा पनिविशेष ध्यान दिने। पकाएको खानाबाहेक अन्य खाना खानु हुँदैन ।

६) दैनिक सरसफाइमा ध्यान दिने ।