लामोसमयसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए

सुर्खेत – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ को एक क्वारेन्टाइनमा बसेका मानिसहरु प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेको २१ दिनसम्म पनिपरीक्षणको रिपोर्टको टुङ्गो नलागे पछि उनीहरुले स्थानीय प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर गएका हुन । वडा नम्बर ८ को जनज्योती आधारभूत विद्यालय मदन चौरमा बसेका ३३ जना बुधबार आफ्नो घर गएका बताइएको छ । २१ दिन अघि भारतको विभिन्न क्षेत्रबाट घर फर्केका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । बुधबार उनीहरुले वर्षायाम सुरु भइसकेको आफ्नो खेतबारी बाँझो रहने अवस्था आएको भन्दै क्वारेन्टाइनबाट वडा अध्यक्ष, नगर प्रहरी, स्वास्थ्यकर्मीलाई अटेरी गर्दै आ–आफ्नो घर गएका हुन । उनीहरुलाई जति रोक्ने प्रयास गरेपनि उनीहरुले अटेरी गरेर घर गएको वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले जानकारी दिए । ‘कुल ३४ जनाको ७ दिन पहिले आरडिटि चेक गरेका थियौँ । ती मध्ये एक जनाको पोजेटिभ आए पछि उनको तत्काल विन्द्रासैनी स्वास्थ्यचौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ ,वडा अध्यक्ष शाहीले भने, ‘आरडिटि परीक्षण लगत्तै ५ दनि अघि पिसिआरको लागि नमुना संकलन गरेर लगिएको छ । तर हालसम्म नतिजा नआएपछि उहाँहरु जानु भएको हो ।’