जो बाइडेनका चिफ अफ स्टाफ भन्छन; फेब्रुअरी अन्त्यसम्ममा एक लाख अमेरिकी नागरिकको कोरोनाबाट मृत्यु हुन सक्छ

एजेन्सि-जो बाइडेनका चिफ अफ स्टाफले फेब्रुअरी अन्त्यसम्ममा थप एक लाख अमेरिकी नागरिकको कोरोनाभाइसका कारण मृत्यु हुने अनुमान गरेका छन्।

उनले फेब्रुअरी अन्त्यसम्ममा कोरोनाबाट ज्यान गुमाउने अमेरिकीको संख्या पाँच लाख पुग्न सक्ने बताए। अहिलेसम्म अमेरिकामा कोरोनाबाट चार लाख मानिसले ज्यान गुमाइसकेका छन्।

अवस्था राम्रो हुनुभन्दा पहिला भाइरसले झन् खराब हुँदैछ,’ उनले भने,‘अहिले भाइरससँग सम्पर्क भइरहेका व्यक्तिहरू अर्को महिनाबाट बिरामी हुन सुरू हुने छन् र यसले फेब्रुअरी अन्त्य र मार्चमा पनि मृत्यु ह्वात्तै बढाउने छ।’

अमेरिकामा पछिल्लो समयमा दैनिक कोरोनाका ३ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। पछिल्लो समय देखा परेको नयाँ किसिमको कोरोनाभाइरसले आगामी दिनमा संक्रमण झन् धेरै फैलिने सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अधिकारीहरूले चेतावनी दिएका छन्।

क्लेइनले ट्रम्प प्रशासनले थप भ्याक्सिन स्टोरेज नगरेकाले पनि समस्या बल्झिएको बताए। भ्याक्सिन उत्पादन र वितरण लथालिंग भएका बेला बाइडेन प्रशासनले काम सुरू गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

तर हामीसँग त्यसलाई ठिक पार्ने योजना छ,’ क्लेइनले भने,‘भ्याक्सिन वितरणको गति बढाउन सक्ने चिजहरू छन् भन्ने हामीलाई लाग्छ।’

राष्ट्रपति निर्वाचित बाइडेनले शुक्रबारमात्रै संघीय खोप अभियानको घोषणा गरेका छन्।

यसअघि चिनियाँ अनुसन्धानकर्ताले गरेको अनुसन्धानले मार्चसम्ममा विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने देखाएको थियो।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसी , चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूको अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने देखाएको छ।

सिडिसीका प्राध्यापक सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा चीन सरकार र नागरिकले महामारीको नयाँ झड्का अनुभव गर्नु पर्ने चेतावनी दिइएको छ।

ुमहामारी कसरी अघि बढ्छ भन्ने अनुमान गर्न कठिन छ तर केही मोडलबाट निकालिने गणितीय आँकडाले व्यवहारिक सूचना दिन्छन्, ु सुले भने।

अनुसन्धानको नेतृत्व गरेका सुलाई यसअघि चीन सरकारले वुहानमा कोरोनाको अध्ययन गर्न पनि पठाएको थियो।

चीनले महामारीलाई निकै हदसम्म नियन्त्रणमा राखेको भए पनि धेरै देशहरू अहिले पनि कोरोना महामारीसँग जुधिरहेका छन्। नयाँ खालको कोरोनाभाइरसले महामारीविरूद्धको लडाइँलाई झन् चुनौतीपूर्ण बनाएको छ।

सुको अनुसन्धान अनुसार मार्चको सुरूसम्म १७ करोड संक्रमित हुन सक्ने छन्।

सबैभन्दा खराब अवस्थामा अमेरिका ३ करोड मानिस संक्रमित हुन सक्छन् भने त्यसपछि भारतमा एक करोड ५५ लाख, ब्राजिलमा १ करोड ५० लाख र रूसमा ६० लाख मानिस संक्रमित हुन सक्छन्। सबैभन्दा धेरै संक्रमित भएका यी चार देशमा मृत्युदर के हुन्छ भन्नेबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छैन।

सबैकुरा सोचेजस्तै भयो, सरकारहरूले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गरे, आम नागरिकले भौतिक दूरी अपनाउँदै मास्क लगाए र ठूलो संख्यालाई कोरोनाको भ्याक्सिन लगाइयो भने पनि मार्च पहिलो सातासम्म थप तीन लाख मानिसको कोरोनाले मृत्यु हुने अनुसन्धानले देखाएको छ।

कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका सांघाईको इन्स्टिच्युट पास्टेरका अर्का एक अनुसन्धानकर्ताले मार्चसम्ममा ५० लाख मानिसको मृत्यु हुने गरी महामारी फैलिए विश्वको स्वास्थ्य प्रणालीले काम गर्न नसक्ने बताए।

अतिआवश्यक कुरा पनि नपाएर मानिसहरू मर्न सक्छन्,’ उनले भने।

हप्किन्स विश्वविद्यालयको आकँडाअनुसार अहिले संसारमा कोरोनाभाइरस संक्रमणपछिको मृत्युदर २।१ प्रतिशत छ। थप ३० लाख मानिसको मृत्यु भए मृत्युदर ३ प्रतिशत पुग्नेछन्। गत वर्ष वुहानमा महामारी फैलँदा मृत्युदर त्यही हाराहारीमा थियो।

टेक्सास एएन्डएम विश्वविद्यालयका भाइरोलोजिस्ट प्राध्यापक बेन्जामिन नेउम्यानले महामारीको भविष्य अनिश्चित भएको बताए।

एकदम राम्रो भएछ भने ३० लाखभन्दा बढी मानिसको मृत्यु हुँदैन,’ उनले भने,‘तर खराब अवस्था आयो भने ७० लाखभन्दा बढी मानिस मर्न सक्छन्। कोरोनाको भविष्य हाम्रै हातमा छ।

बेलायत, अमेरिकाजस्ता देशहरूले आमनागरिकलाई धमाधम खोप लगाइरहेका भए पनि चिनियाँ अनुसन्धानकर्ताले चीनलाई खोप लगाउन पर्खनु पर्ने सुझाव दिएका छन्।

म्युटेड भएको भाइरसले भ्याक्सिनले विकास गर्ने एन्टिबडीलाई काम गर्न नदिने भएकाले अहिले विकास भएका भ्याक्सिन तत्काल लगाउन नहुने उनीहरूको सुझाव छ।